१५ लाख नदिएपछि नख्खु कारागारभित्रै चौकीदार र जेलरले कुटिकुटी भक्तबहादुरको हत्या गरे !


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

काठमाडौँ । नख्खु कारागारभित्र एक जना कैदीको ज्यान गएको छ । बर्दिया घर भएका भक्तबहादुर सुनारले कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका सुनारको बैशाख २१ गते राति कारागारभित्रै ज्यान गएको हो ।

प्रहरीले बैशाख २२ गते विहान भक्तबहादुर विरामी भएको भन्दै आफन्तलाई खबर गरेको थियो । उपचारको लागि भन्दै पाटन अस्पतालमा लगियो । अस्पतालले मृत घोषणा गर्यो । आफन्तले सोध्दा ज्वरो आएको प्रहरीले बताएपनि शरीरका विभिन्न ठाउँहरुमा निल डाम देखिएपछि शंका पैदा भएको थियो ।

परिवारले लास बुझ्न नमानेपछि प्रहरीले आफैले पोष्टमार्टमको लागि भन्दै भक्तबहादुरको शव शिक्षण अस्पताल लग्यो । भक्तबहादुरका दाजु रामबहादुर सुनारले प्रहरीले जेलभित्रै यातना दिएर हत्या गरेको बताउँछन् । छानविनको लागि भन्दै परिवारले शव बुझ्न मानेका छैनन् ।
यसैबीच भक्तबहादुर सुनाले गृहमन्त्री रामबहादुर थापालाई लेखेको पत्र भेटिएको छ । भेट्न गएका आफन्तमार्फत बाहिर पठाएको पत्र गृहमन्त्रीलाई नपुग्दै उनको ज्यान गयो ।

पत्रमा भक्तबहादुरले आफूसँग कारागारका चौकीदार बुद्ध गुरुङ र जेलरले १५ लाख मागेको नदिए मारिदिने धम्की दिएको उल्लेख गरेका छन् । उनले आफूले सजाय भुक्तान गरीसक्दा पनि आफूसँग १५ लाख दिएमात्रै छोड्न नत्र भित्रै मारिदिने धम्की दिएको भन्दै न्यायको लागि गृहमन्त्री बादललाई पत्र लेखेका छन् । पत्र कुन मितिमा लेखेका हुन भन्ने कुरा नखुलाएपनि गृहमन्त्री बादल कारागार अवलोकनमा जाँदा आफूहरुलाई भेट्न नदिएको पत्रमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रमा भक्तबहादुरले आफूलाई पैसा नदिएको भन्दै यातना निकै यातना दिइरहेको उल्लेख गर्दै यसअघि एक कैदीले पैसा नदिएकै कारण कुटीकुटी हत्या गरेको समेत उल्लेख गरेका छन् । उनले जेलभित्र भइरहेका कर्तुतबारे विस्तारमा लेखेका छन् । यस समाचार आजको अनलाइनडबलीमा प्रकाशित गरिएको छ ।

यस्तो छ पत्र

माननीय गृहमन्त्रीज्यू,

सिहंदरवार, काठमाडौं ।

मिति २०६४ माघ १४ गते देखि २०७५ बैशाख ११ गतेसम्म कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिला सजाय भुक्तान गरी सकेको । यस कारागारमा पाउनु पर्ने अधिकार छुटको ४० प्रतिशत पाई छुट्नु पर्नेमा मलाई यस कारागारका चौकिदार बुद्ध गुरुङ र जेलर मिली मेरा लागत उठाउनका लागि १५ लाख मागेको र यदि सो रकम नदिएको खण्डमा अझ अरु १० वर्ष यही सहुन पर्ने भनी मलाई कारागारका चौकीदा गुरुङले भनेका छन् ।

मानिनीय मन्त्रीज्यू यस राज्यमा हामी जस्ता गरिबका छोराले न्याय पाइदैन । मात्र १५ लाख जत्रो ठूलो रकम म जसतो बाबु आमा नभएको टुहुरोले कहाँबाट ल्याउने । म बस्ने यस नख्खु कारागारमा प्रत्येक व्यक्तिसँग रकम असुली भइरहेको छ । यदी भनेपति रकम नदिएमा, मार्ने, कुट्नेलगयात विभिन्न किसिमका यातना दिने लगायतका कार्य भइरहेको छ । यस्तै एउटा घटना विगतमा पनि यस कारागारामा घटेको थियो । चन्द्र राजवंशसँग । उसँग पनि रकम मागेको र नदिँदा कोखा–कोखामा हानेको र त्यो व्यक्तिको विगत १ महिना अघि उपचारको क्रममा मुत्यु भइसकेको । र, यस कारागारामा मान्छे, कुट्ने, पैसा उठाउने नदिए बन्दी बनाएर राख्ने । बाहिरबाट हेर्दा जति शान्त देखिन्छ, यो कारागार भित्रबाट त्यतीनै खतरनाक छ ।

अस्ती यहाँ आउनु भएको बेला हजुरलाई भेट्न दिइएन हामीलाई । अनि हजुरले गरेको आदेश अनुसार भेटघाट कक्षमा सिसि क्यामारा पनि राखेको छैन । अनि यहाँ पैसा वालाहरुलाई भित्रै मोवाइल चलाउन दिनेलगायतका अरु पनि सम्पूर्ण सुविधा उपलब्ध दिने, कारागार बाहिर निकाली चौकीदार जेलले होहोरी साँझमा घुमाउन लैजाने तर हामी जस्ता गरिबलाई भने कारागाले दिने सेवा सुविधा नै नदिई उल्छै कुटपिट गरी मार्छु भन्दै धम्की दिइराखेको गृहमन्त्रीज्यू हिजो आज पत्रिकामा हजुरको कारागार सुधार सम्बन्धी लेख देखेर धेरै नै खुशी भएर यो लेखेको छु ।

तर, आज फेरि ममाथि यातना दिई पैसा, फिरौती माग्ने क्रम सुरु भएको । मलाई दिनुपर्ने सेवा सुविधा पनि कटौती भएको छ । फेरिपनि पैसा मागेको कुरा आफान्तसँग गरेमा चौकीदार गुरुङले तेरा हात, खुट्टा भाँचेर यही जेलमा नै मारिदिन्छु भनेका छन् । मैले यसको विरोध गरेमा तैले पनि चन्दराज वंशले जस्तै ज्यानले मर्नु पर्ला भनि धम्की दिइरहेको छ ।

मानिनय गृहमन्त्रीज्यू, म जस्तो गरिबको छोराले यत्रो ठूलो रकम कहाँबाट ल्याउने । यसको बुद्ध गुरुङ र जेलर जस्तालाई हदैसम्मको कारवाही होस भनि हजुरसँग ठूलो आशा गरेको छु । र, मलाई यहाँ मार्ने–कुट्ने पनि अत्याधिक मात्रामा भइरहेको छ । साथै मन्त्रीज्यूबाट न्यायको ठूलो अपेक्षा गर्दछु । अन्त्यमा म आफ्ना पीडा सुनाउँदै अब केही हुन आशामा जान नजानी लेखेको छु । यो पत्र बन्द गर्दै हजुरसँग विदा चाहन्छु ।

पीडित निवेदक
भक्तबहादुर सुनार
नख्खु कारागार नयाँ ब्यक कागमाडौं ।

पत्र जस्ताको त्यस्तै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com