करोडौं ठगेर वडाअध्यक्ष फरार !


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

बसन्त गिरी

कपिलवस्तु  । यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लईस पठानबिरुद्ध विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्दामा उजुरी परेपछि अहिले उनी फरार छन् ।

उनी फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।

नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् । उनी फागुन १९ गतेदेखि वडा कार्यालयमा आएका छैनन् ।

पारिवारिक श्रोतका अनुसार वडाअध्यक्ष पठान भारतीय सीमावर्ती बजार खुनुवामा बस्दै आएका छन् ।
विभिन्न व्यक्तिसँग अर्कैको जग्गा देखाई वडाअध्यक्ष पठानले १ करोड बढी रकम ठगी गरेको आरोप छ । कसैलाई किर्ते लालपूर्जा दिएर वा कसैलाई ऋणको कागज बनाई ५ जना भन्दाबढी व्यक्तिसँग रकम लिएको उनीमाथि आरोप छ ।

पठान १ करोड १३ लाख रुपैयाँ ठगी गरेको, १२ लाख ५० हजारको चेक (अनादर) बाउन्स गरेको तथा भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रुपन्देही र कपिलवस्तु जिल्ला अदालतमा उजुरी तथा मुद्दा परेको छ । उजुरी लगत्तै पठान भारत पसेका छन् ।

मर्यादपुर सीमा क्षेत्र पारीको खुनुवा बजार क्षेत्रमा उनी बस्दै आएको स्थानीय मंगल गुप्ताले जानकारी दिए ।

वड अध्यक्ष पठानले कपिलवस्तु नगरपालिका ५ का इसहार खाँसँग ३२ लाख रुपैयाँ लिएका थिए ।

जेसिभी मेशिन किन्ने भन्दै उनले कागज गरेर ३२ लाख लिएको पीडित इसहारको भनाई छ ।

वडाअध्यक्ष लइस पठानले इसरार खाँको नाममा सहिछाप गरेको ३२ लाखको तमसुक

‘भाका नाघेपछि रकम माग्न जादा दिएन, दिएको चेक समेत बाउन्स भयो,’ ऋण लिएको कागज देखाउँदै उनले भने । आफुले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७४ साल साउन १२ गते उजुरी दिएपनि हालसम्म कारवाही नभएको बताए ।

प्रहरीको दर्ता किताबको दर्ता नंं १०१, १०२ र १०३ मा दोहोरो नागरिकता, लुटपाट तथा ठगी र चेक बाउन्स सम्बन्धी ठाडो उजुरी दर्ता भएको छ । यसैगरी रुपन्देही गैडहवा गाउँपालिका ६ सूर्यपुराका चन्द्रभान बढईसँग ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी समेत परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा फागुन १३ गते वडा अध्यक्ष पठानविरुद्ध ठाडो उजुरी दर्ता भएको छ ।

दर्ता नं।१२२ मा दर्ता गरिएको उजुरीमा पठानले यशोधरा गाउँपालिका ५ कचरीहवामा ३ विगहा पक्की जग्गा देखाएर नक्कली लालपूर्जा बनाई ३५ लाख लिएर गएको र हालसम्म बेपत्ता भएको उल्लेख छ । पीडित चन्द्रभान बढईले पटक–पटक वडा अध्यक्षसँग रकम माग गर्न आउदा विभिन्न धम्की समेत दिने गरेको उनले जानकारी दिए ।

विभिन्न उजुरी तथा मुद्दा परेर वडा अध्यक्ष फरार भएपछि अहिले वडाको सम्पूर्ण विकासे काम ठप्प भएको छ । वडा सदस्य अजय कुमार मिश्राले वडा स्तरीय २० भन्दा बढी पूर्वाधार योजना अलपत्र परेको बताए ।
‘अब ३ महिना मात्र बाँकी छ, १ करोड बढीको योजना अझै सुरु हुन सकेको छैन,’ उनले भने ।

वडाअध्यक्ष लईस पठानको नागरिकता

बहुमत वडा सदस्यहरुले आफुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि सीमापारी बसेको वडा अध्यक्षले सचिव मार्फत काम अघि बढाउन नदिएको आरोप मिश्राको छ । वडासचिवले अहिले पनि वडाका अधिकांश सिफारिश तथा कामहरु भारतमा गई वडाअध्यक्षको हस्ताक्षर गराउने अवैध कार्य गरेको अर्का वडा सदस्य मुनेश्वर यादवको भनाई छ ।

 वडाअध्यक्ष लईस पठानको तस्वीर रहेको भारतीय आयकर प्रमाणपत्र

‘दुई महिनादेखि फरार छन् वडामा आएका छैनन्, नागरिकता सिफारिश र उपभोक्ता समिति गठन रोकिएको छ तर अरु काम कसरी गरियो ?’ उनले प्रश्न गरे ।

त्यसो त वडा अध्यक्ष लईस पठानविरुद्ध जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयमा दोहोरो नागरिकता लिएको भन्ने उजुरी समेत परेको छ । उजुरीकर्ता इसहार खाँका अनुसार उनी भारतीय नागरिक भएको र उनले किर्ते गरि नेपाली नागरिकता लिएको हुँदा नागरिकता खारेजको माग गरेका छन् । भारतीय आधारकार्ड तथा भोटरआईडीमा लईस पठानको नाम नईम खाँन रहेको र उनको ठेगाना सीमावर्ती शोहरतगढ भएको बताइएको छ ।

भारतीय प्रमाणपत्रहरुमा नाम थर, बाबुको नाम र ठेगाना फरक रहेपनि तस्वीर भने हुबहु मेल खाने निवेदक इसहारको दाबी छ । वडा अध्यक्षविरुद्ध तमाम ठगी, किर्ते, चेक अनादर र दोहोरो नागरिकता सम्बन्धी उजुरी पर्दा समेत प्रहरीले चासो नदिएको पीडितहरुको आरोप छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले भने ठाडो उजुरीहरु दर्ता भएको र छलफलको लागि लईस पठानलाई बोलाउँदा नआएको जानकारी दिएको छ । प्रवक्ता तथा डिएसपी नरेन्द्र कार्कीले उजुरीसम्बन्धी छानबिन भइरहेको बताए । ‘हामीले दुबै पक्षलाई बोलायौँ तर पठान आएनन् यसबारे अनुसन्धान गर्दैछौँ,’ उनले भने ।

पठान नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका हुन् ।

Source : Ratopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com