Follow @khasokhasmag

सलमान खानलाई ‘घुँडा टेकाउने’ समुदाय


प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार

बियाबान मरूभूमिमा उनीहरू वन्यजन्तु र बोटबिरूवाका रक्षक हुन्।

बिश्नोइ समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन्।

बलिवूड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरण बाहिर आएपछि उनीहरू सडकमा उत्रिए।

बिश्नोइ समाजका मानिसहरू आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्दछन्।

सीमित

त्यसमध्ये एउटा नियम वन्यजन्तु र बोटबिरूवाको रक्षासँग सम्बन्धित छ।

बिश्नोइ समाजका मानिसहरू मरूभूमिसम्म मात्रै सीमित छैनन्।

उनीहरू राजस्थानबाहेक हरियाणा, पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा पनि बस्छन्।

बिश्नोइ

 

जोधपुरबाट निर्वाचित पूर्वसांसद जसवन्त सिंह बिश्नोइ भन्छन्, “हाम्रा संस्थापक जम्भेश्वज्यूले जीवप्रति दया गर्नुपर्ने शिक्षा दिनुभएको छ। ‘जीवप्रति दया गर्नुपर्छ र बोटबिरूवाको रक्षा गर्नुपर्छ। यी कर्मबाट बैकुण्ठमा वास पाइन्छ, ‘उहाँले भन्नुहुन्थ्यो।”

उक्त समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि शुरूदेखि नै राज्यसत्तासँग लड्दै आएका छन्।

बलिदानी

बिश्नोइ समाजका पर्यावरण कार्यकर्ता हनुमान बिश्नोइ भन्छन्, “सन् १७८७ मा जोधपुर राज्यमा सरकारले रूख काट्न आदेश दिँदा बिश्नोइ समुदायका मानिसहरू विरोधमा उत्रिएका थिए। त्यतिबेला राजा अभय सिंहको शासन थियो।”

पूर्वसांसद बिश्नोइ भन्छन्, “त्यतिबेलाको नारा थियो- यदि टाउको कटाएर रूख जोगाउन सकिन्छ भने त्यो पनि कम हुनेछ।”

बिश्नोइ

 

उनका अनुसार त्यतिबेला रूख जोगाउने क्रममा जोधपुरको खेजडली र आसपास क्षेत्रका ३६३ जनाले आफ्नो ज्यानको बलिदानी दिए। तीमध्ये १११ जना महिला थिए।

पूर्वसांसद बिश्नोइ भन्छन्, “त्यो बलिदानीको सम्झनामा हरेक वर्ष खेजडलीमा मेलाको आयोजना गरिन्छ जहाँ बिश्नोइ समुदायका मानिसहरू आफ्ना पूर्वजले दिएको बलिदानीको स्मरण गर्छन्।”

गुरू जम्भेश्वरको जन्म सन् १४५१ मा भएको थियो। उनको जन्मस्थान बिकानेर जिल्लामा समरथल बिश्नोइ समुदायको तीर्थस्थल छ।

अवतार

त्यहाँ गुरू जम्भेश्वरको समाधिस्थल पनि छ, जहाँ प्रत्येक वर्ष मेलाको आयोजना गरिन्छ।

बिश्नोइ समुदायबारे किताब लेखेका मुन्शी हरदयालका अनुसार उक्त समुदायका मानिसहरू गुरू जम्भेश्वरलाई भगवान् विष्णुको अवतार मान्छन्।

बिश्नोइ समुदायका मानिसहरू मरेपछि कतिपयको शव गाडिन्छ भने कतिपयको दाह संस्कार गरिन्छ।

बिश्नोइ

 

मरूभूमिमा वन्यजन्तुको रक्षा गर्नुपर्नेमा बिश्नोइ समुदायका मानिसहरू अडिग रहिआएका छन् र हरिणको शिकार गर्ने मानिसहरूसँग बेलाबखत उनीहरूको भिडन्त भइरहन्छ।

बिश्नोइ बहुल गाउँहरूमा कहिलेकाहीँ त हरिणको टुहुरो बच्चालाई महिलाहरूले स्तनपान गराइरहेको दृश्य पनि हेर्न पाइन्छ।

सह-अस्तित्व

पूर्वसांसद बिश्नोइ भन्छन्, “यो जीवजन्तुप्रति बिश्नोइ समुदायका मानिसहरूको अटुट सम्बन्धको उदाहरण पनि हो।”

उसो त बिश्नोइ समुदायका मानिसहरू खेतीपाती र पशुपालनलाई जीविकोपार्जनको स्रोत मान्छन्।

बिश्नोइ

 

तर बदलिँदो समयसँगै कतिपयले व्यापारमा पनि हात हाल्न थालेका छन्।

उक्त समुदायका हनुमान बिश्नोइ भन्छन्, “गुरू जम्भेश्वरले पनि प्रकृतिलाई सम्मान गर्न शिक्षा दिनुभएको छ। हामी सह-अस्तित्वमा विश्वास गर्छौँ।”

“मानव जीवन जति मूल्यवान छ त्यति नै प्रकृतिको रक्षा गर्न महत्त्वपूर्ण छ।”

BBC Nepali

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com