Follow @khasokhasmag

प्रहरीको ‘गल्ती’ले आत्महत्याको नजिक पुर्‍यायो


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

अपराधको दुनियाँमा दुईवटा दर्दनाक घटनाको यहाँ चर्चा गर्न खोजिएको छ, जुन घटनाले अपराधीलाई होइन, हाम्रो समाजलाई चाहिँ गिज्याउँछन् । नीतिनिर्माताको कमजोरीका कारण कसरी सर्वसाधारणले दुखः पाउँछन् भन्ने थाहा पाउन यी दुई घटना पर्याप्त छन् ।

पहिलो घटना एक युवतीसँग सम्बन्धित छ भने दोस्रोचाहिँ एक युवकसँग । दुबै हुनेखाने परिवारका युवा हुन् । उनीहरुको जीवनमा प्रहरी र अदालतको गलत व्यवहारका कारण नराम्रो ठेस लाग्न पुग्यो ।

पहिलो घटना एकजना ‘बेलायती सेनाको परिवारकी छोरी’ यमुना गुरुङ (नाम परिवर्तन) को हो ।

युमुनालाई प्रहरीले लागूऔषध कारोवारकी नाइकेका रूपमा पोखराबाट पक्राउ गरेको थियो । पक्राउको घटनालाई त्योबेला प्रहरीले ठूलै सफलता मानेको थियो । प्रहरीले यसलाई जति महत्वपूर्ण मुद्दा मानेको थियो, समय वित्दै जाँदा त्यो सामान्य बन्दै गयो ।

मुद्दा चल्दै जाँदा ती महिलाले लागु औषध दुर्व्यसनीसँग विवाह गरेकी र गर्भवती भएको पनि खुल्यो । त्यति मात्र होइन, प्रहरीले अनुमान गरेजस्तो उनलाई बचाउन न धनाढ्य भनिएका उनका परिवार नै आए, न त उनी कुनै लागु औषध कारोवारी नै देखिइन् । यद्यपि कानुनको फन्दामा परेकी गुरुङलाई अदालतले दुई वर्षको जेल सजायँ र एक लाख रुपैयाँ बराबर नगद जरिवानाको फैसला सुनायो ।

 

उनी कतिसम्म आफन्तविहीन निस्किइन् भने उनले अदालतलाई बुझाउने केही हजार रुपैयाँ धरौटी तिरिदिने मान्छे पनि कोही भएनन् ।

अदालतले तोकेको एक लाख रुपैयाँको साटो ४ वर्षसम्म उनी त्यही अपराधको सजायँ काटिरहेकी थिइन् ।

त्यहीँ बच्चा जन्माएर हुर्काइरहेकी गुरुङलाई जेलबाट निकाल्न लाग्ने खर्च र कानुनी प्रक्रिया पूरा गर्न एकजना २३ वर्षका कैदी तयार भए । जसले भर्खरै ठगी मुद्दामा जेल सजायँ भोगेका थिए ।

दोस्रो घटना अझै अनौठो छ ।

काठमाडौंको एउटा सुन पसलमा काम गर्ने युवककी श्रीमतीलाई सुत्केरी ब्यथाले च्याप्यो । ती युवा ट्याक्सी लिएर कोठामा पुगे । श्रीमतीलाई ट्याक्सीमा चढाएर थापाथली अस्पताल पुर्‍याए । गोजीमा पैसा नभएकाले उनी त्यही ट्याक्सी लिएर आफूले काम गर्ने सुन पसलमा आए ।

आफ्ना समस्या सुनाएर पैसा मागे । तर, पसलबाट उनलाई खाली हात फर्काइयो ।

बाहिर ट्याक्सी रोकिरहेको र अस्पतालमा श्रीमती प्रसव पीडामा छट्पटाइरहेको सम्झेपछि ती युवा पुनः सुन पसलमै फर्किए र सुन मालिकको मोबाइल डकैतीको शैलीमा लिएर हिँडे ।

ट्याक्सीलाई त्यही मोवाइल दिएर उनी पुनः पसलमा आए । श्रीमतीको उपचारका लागि पैसा दिन आग्रह गर्न थाले । यहीबेला उनलाई प्रहरीले चोरीको केसमा पक्राउ गर्‍यो । त्यही दिन थापाथलीमा उनकी श्रीमतीले बच्चा जन्माइन् । श्रीमान् आउने आशमा एक सातासम्म उनले थापाथली अस्पतालमा कुरिन् । कोही नआएपछि त्यहीँकी नर्ससँग केही हजार ऋण लिएर उनी एम्बुलेन्समा घर फर्किर्न् ।

घर र्फकंदा थाहा भयो, उनका श्रीमानलाई आफ्नै मालिकले चोरीको अपराधमा जेल पठाइदिएका रहेछन् ।

भर्खरकी सुत्केरी ती महिला नवजात शिशु च्यापेर नख्खु कारागार धाउन थालिन् । करिब ४ महिना नख्खु कारागारको गेटमा बिहानदेखि बेलुकासम्म बच्चा च्यापेर कुनै महिला आफ्ना श्रीमानको रिहाइको प्रयास गरिरहेको खबर एक कान दुई कान मैदान भयो ।

केही हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा ती महिलाले ४ महिनादेखि आफ्नो श्रीमानलाई छुटाउन नसकेको थाहा पाएपछि एक युवा पैसा तिर्न राजी भए । ती युवा त्यही व्यक्ति थिए, जसले केही महिनाअघि मात्रै लागू औषधको अपराधमा ४ वर्षदेखि जेल सजायँ भोगिरहेकी जमुना गुरुङलाई जेलबाट बाहिर ल्याएका थिए ।

को हुन् ती युवा ?

काठमाडौं महाराजगञ्जका विवेक उपाध्याय एक चर्चित रेष्टुराँ व्यवसायीका कान्छा छोरा हुन् । काठमाडौं र पोखरासम्म व्यावसायिक कारोवार भएका विवेक २१ वर्षको उमेरमा साढे ७ लाख ठगी गरेको आरोपमा दुई वर्षअघि पोखरामा पक्राउ परेका थिए ।

प्लस टु पढ्न काठमाडौंबाट पोखरा गएका विवेकले पारिवारिक बिँडो थाम्दै त्यहाँ रेष्टुराँ, रेडिमेड सोरुम, सहकारी र विद्यालय सञ्चालन गर्न थाले । तर, सानै उमेरमा करोडौंको कारोवार गरिरहेका विवेकको कच्चा उमेरले यसरी धोका दियो कि आफ्ना सबै कारोवार त डुबाए नै, अरूको पनि लाखौं रुपैयाँ फसाए ।

तीमध्ये एकजनाले साढे ७ लाखको चेक बाउन्स गरेर ठगी मुद्दा हाले । जसका कारण उनी जेल परे ।

सम्पन्न र इज्जतिलो उपाध्याय परिवारका कोही पनि त्यसअघि प्रहरी केसमा फसेका थिएनन् । त्योबेला यो राष्ट्रिय स्तरको खबर बन्यो ।

परिवारले पनि उनलाई चाँडै छुटाउन प्रयास गरे । कानुनी झन्झट र जेलभित्रको वातावरणले उनलाई जेलको समस्या थाहा भयो ।

‘थोरै पैसाका कारण धेरै कैदीबन्दीहरू सजायँ पूरा भए पनि वर्षौदेखि बाहिर निस्कन पाएका रहेनछन्,’ त्योबेलाको घटना सम्झँदै विवेक भन्छन्, ‘जेल परेको भन्दै आफन्तले हेयको दृष्टिले हेर्दा रहेछन् । कतिपय परिवारले आफ्नो मान्छे जेल परेकोसमेत थाहा नपाउँदा रहेछन् । यही कारण मैले जेलमै बसेर जेल सुधार अभियान सुरु गरेँ ।’

जेलमै बसेका बेला विवेकले काठमाडौंबाट जेलभित्रका लागि भनेर दिएको खर्चले तीनजना कैदीलाई बाहिर निकाले । यसरी जेल जीवन बिताइरहेका कसैका परिवारले पनि उनीहरू कैदी जीवन बिताइरहेको जानकारी परिवारलाई दिएका थिएनन् । जेल परेको भनेपछि सबैले हेय दृष्टिले हेर्ने भएकाले कैदी बन्दीहरूले आफ्नो परिचय लुकाउँदा रहेछन् । यही कारण सानो अपराधमा जेल परेका व्यक्ति पनि परिवार र सहयोग गर्ने संस्थाको अभावमा वर्षौं जेलमै बसिरहनुपर्ने बाध्यता रहेछ ।

चार महिना जेल बसेर फर्किएपछि विवेकले थाहा पाए, उनको मात्र होइन, पूरै परिवारको जीवन तहसनहस भएको रहेछ । पोखरामा उनले कारोवार गर्दा लाखौं होइन, करोडौं रुपैंया डुबाएको र ती सबै तिर्न नसक्दा परिवार पनि करिब-करिब टाट पल्टन लागेको रहेछ ।

‘जेलबाट फर्केको भन्नेबित्तिकै सबै साथीभाइ मसँग तर्कन थाले । मेरै कारण परिवारको अवस्था नाजुक भएकाले परिवारले मलाई राम्रो मान्ने कुरा थिएन । म एकाएक बिरानो भएँ । मेरो भन्नु केही रहेन, कोही रहेन’, विवेकले महसुस गरे, ‘त्यो जीवन करिब-करिव नर्कजस्तै थियो ।’

एक दिन अचानक उनलाई लाग्यो, उनी सबैका लागि भार बनिरहेका छन् । यस्तो जीवन बाँच्नु भन्दा मर्नु ठीक छ । उनले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरे । तुरुन्तै परिवारले थाहा पायो र उनी बाँचे ।

अर्कोपटक उनले विषको प्रयोग गरे । काठमाडौंको सुविधासम्पन्न अस्पतालले उनलाई मर्न दिएन ।

‘तर दुवैपटक मलाई परिवारले बचाए । काल नआईकन मर्न पनि नसकिने रहेछ’, विवेक भन्छन्, ‘सायद जीवनले मसँग अर्कै कुराको माग गरेको थियो । यही कारण जति प्रयास गरे पनि मर्न सकिनँ ।’

जीवन परिवर्तन हुने घटना

विवेक तेस्रो पटक आत्महत्या गर्ने योजना बुन्दै थिए । यसपटक उनी परिवारभन्दा टाढा गएपछि मात्रै आत्महत्या सफल हुने निष्कर्षमा पुगेका थिए । त्यहीबेला थोरै पैसाका कारण अदालतलाई धरौटी बुझाउन नसकेर एकजना युवा जेलमा बसिरहेको उनले थाहा पाए । यो खबर दिने व्यक्ति त्यही उही थिए, जसलाई उनले जेलबाहिर निकालेका थिए ।

‘पसलबाट केही पैसा चोरेर मैले त्यो व्यक्तिलाई निकालें, उनको अनुहारमा जुन खुसी देखेँ, त्यसले मलाई बाँच्ने प्रेरणा जगायो’, विवेक भन्छन् ।

त्यसयता विवेकको जीवन नै जेलमा परेका निर्दोष व्यक्तिलाई कानुनी सहायता प्रदान गर्ने, धरौटी बुझाउन नसकेर जेल बसिरहेका व्यक्तिलाई पैसा जम्मा गरेर निकाल्ने, रोजगारी दिने, पारिवारिक मिलन गराइदिने र जेलमा आवश्यक पर्ने सामग्री पठाइदिने काममा बित्न थालेको छ ।

यसका लागि उनले ‘हिडेन लाइफ फाउन्डेसन’ नामक संस्था खोलेका छन् । यो संस्थाले दर्जनौं जेलहरूको भ्रमण गरेर ती जेलहरूमा शौचालय, पुस्तकालय र खेलकुद सामग्री वितरण गरिरहेको छ । त्यसबाहेक संस्थाले अहिलेसम्म ११५ जना कैदी-बन्दीलाई जेलबाट मुक्त गरिसकेको छ ।

तीमध्ये ७ जनालाई आफ्नै पहलमा खोलिएको पसलमा रोजगारी दिएको र केहीलाई सीपमूलक तालिम दिइएको विवेक बताउँछन् ।

‘आजभोलि त मैले किन आत्महत्याको प्रयास गरेँ भनेर सोच्दा पनि हाँसो उठ्छ’ विवेक भन्छन्, ‘जीवन त अरूको कल्याणमा पो रहेछ ।’

विवेक भाग्यमानी थिए, जसलाई घटनाहरूले पाठ सिकायो र ‘अपराधी’बाट उनी समाजसेवी बने । तर, आफ्नो शक्ति थाहा नपाउने अनि विवेकजस्तै आत्महत्याको प्रयास गर्ने र आत्महत्या गरिरहेका युवाहरूलाई उनीहरूको शक्ति कसले चिनाउने ? कसरी चिनाउने ?

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com