नेपालबाट चोरेर अमेरिका ल्याइएका मूर्ति औपचारिक रुपमा काठमाडौंमा हस्तान्तरण


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

नेपालबाट चोरी भई न्युयोर्क ल्याइएका झण्डै ८ सय बर्ष पुराना दुई मूर्ति नेपाललाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । काठमाडौंमा रहेको पुरातत्व विभागमा आयोजित पत्रकार सम्मेलनमा स्वदेश फिर्ता गरिएका मूर्तिहरु सार्वजनिक गरिएको हो ।

न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आइपुगेका ती मूर्ति म्युजियमले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो । मूर्ती हस्तान्तरण गर्न न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टका प्रमुख क्युरेटर जोन गाई र नेपाल सरकारका महावाणिज्यदूत मधुकुमार मरासिनी नेपाल जानुभएको थियो ।

मार्चको पहिलो साता महावाणिज्यदूत मधुकुमार मरासिनी र म्युजियमका अध्यक्ष डानियल एच विसले मुर्तीहरु फिर्ता गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । एउटा टंगालहिटी पाटनमा रहेको उमा महेश्वरको मूर्ति र अर्को यट्खाटोल काठमाडौमा रहेको बुद्धको पूर्णकदको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । तीमध्ये उमा महेश्वरको मूर्ती १२ औंदेखि १३ औं शताब्दीमा निर्माण भएको र बुद्धको ११ औंदेखि १२ औं शताब्दीमा निर्माण गरिएको विश्वास गरिएको छ ।

बरिष्ठ कलाविद् लैनसिंह बाङदेलले सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन इमेज अफ नेपाल पुस्तकमा उल्लेख भएको उमा महेश्वरको मूर्ति न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सन् १९८३ मा नै कसैले किनेर दान गरेको थियो । बुद्धको पूर्णकदको मूर्तिपनि कुनै दाताले किनेर म्युजियमलाई दान गरेका थिए ।

ती मूर्तिहरु चोरिएको रहेको थाहा हुनासाथ प्रदर्शनबाट हटाइएका थिए । म्युजियमका अध्यक्ष डानियल विसले संग्रहालयमा अवैध तरिकाले प्राप्त मूर्तिहरु नरहुन् भन्ने आफूहरुको उद्देश्य रहेको बताउनुभयो । महावाणिज्यदूत मधुकुमार मरासिनीले मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा संग्रहालयलाई धन्यवाद दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com