कपाल काटेरै लखपति


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

पथरी, मोरङ, २२ चैत । पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन ।

उर्लाबारीमा अन्तर्रा्ष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ परेका छन् ।

उर्लाबारीमात्र होइन, दमक, पथरी र इटहराबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उनको पसलमा । यो सैलुन चलाउने युवा हुन्, उर्लाबारी–४ का पवनदेव ठाकुर । दश वर्षअघि आफ्नो गोजीमा भएको ५०० बाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय शुरु गरेका उनले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसकेका छन्।

तीन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोलेका पवन अहिले काम भएन भनेर विदेशिने युवाका लागि पनि गतिलो उदाहरण बनेका छन्। शुरुमा पढ्न नसकेर कपाल काट्न सिक्नुभएका उनीले १० वर्षमै मनग्य कमाउनु मात्रै भएन, आफ्ना भाइहरु अनि गाउँका अरु युवालाई पनि रोजगारी दिइरहेका छन्।

उनको सैलुनमा पाँचजनाले कपाल काट्ने काम गर्छन् । तर पनि कुर्सी एक छिन पनि खाली हुँदैन, कैँची चलाउन व्यस्त उहाँलाई कसैलाई हेर्ने पनि फुर्सद थिएन । पालै दिन मुस्किल हुन्छ, ग्राहक फोन गरेर आउनुहुन्छ, मेहनती पवनले भने । हुन पनि त्यहाँ पालो नपाए बरु केही दिन कुर्छन् ग्राहक । तर त्यहाँ कपाल काटिरहेकाहरू सितिमिति अन्यत्र जाँदैनन् ।

काम सानो ठूलो लाग्दैन उनलाई । उनी भन्छन्, “काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ । पहिले मलाई गिज्याउने धेरै थिए”, शुरुवाती दिन पवनले सम्झिए तर उनीहरु नै अहिले मेरो गुणगान गर्छन् बरु, ‘क्या प्रगति गरिस् भन्छन्।

सैलुनमा भेटिएका मोरङ उर्लाबारीका तेजन खड्का पवनको कपाल कटाइ नै राम्रो लाग्ने बताउँछन् । उनी भन्छन्, पवनबाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन ।

आजभोलि उनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा कमाउँछन्। उनलाई बिहान ६ देखि राति ८ बजेसम्म पनि खाना खाने फुर्सदै हुँदैन । काममै जोतिइरहेका भेटिन्छन् पवन ।

अहिले थुप्रै संघसंस्था पनि उनलाई कपाल काट्ने तालीम दिनुप¥यो भन्दै माग गरिरहेका छन् । तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन, उनले भने, यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहक झगडै गर्छन् । तर पनि उनले केहीलाई भने तालीम दिएका छन्।

आफ्नै सैलुनमा अनि संघसंस्थामार्फत तालीम लिएर अरुहरू पनि अन्य ठाउँमा यस्तै पसल खोलेर बसेका छन् । आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा सन्तोष लाग्छ, उनी सुनाउँछन्। रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com