न्युयोर्क र लण्डनमा उडान भर्ने नेपाल वायुसेवा निगमको योजना


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

नेपाल वायुसेवा निगमले अबको तीन महिनापछि दुइटा ठूला वाइड बडी ए ३३० विमान ल्याउने तयारी गरिरहेको छ । त्यसपछि निगमले अमेरिकाको न्युयोर्कसम्म उडान भर्ने योजना बनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले ‘वाइडबडी ल्याइसकेपछि लन्डनसम्म उडान भर्ने र त्यसपछिको गन्तब्य न्युयोर्क हुने जनाएका छन् । पर्यटनका लागि न्युयोर्क नपुगी नहुने सुनाउँदै कंसाकारले सिड्नी, जापान, कोरिया र युरोपियन सहरमा जानैपर्ने बताएका छन् ।

उनले काठमाडौंदेखि लुक्लाको उडानको तुलनामा न्युयोर्कको उडान सजिलो हुने बताए। महाप्रबन्धकले आगामी वर्ष कम्तीमा दुइटा विमान थप्दै लैजाने महत्त्वाकांक्षी योजना समेत सुनाएका छन् । अहिले निगमले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यमा मात्रै उडान हुँदै आएको छ। आन्तरिकतर्फ २३ वटा गन्तव्यमा निगमले उडान भर्दै आएको छ। आगामी साउन मसान्तभित्र निगमले दुइटा वाइडबडी नेपाल ल्याइसक्ने जनाइएकोछ।

यी विमानको पछिल्लो अवस्थाबारे जानकारी लिन निगमले निमित्त महाप्रबन्धक गणेश चन्दको नेतृत्वमा ८ जना अधिकारीहरूलाई चैत २८ गते फ्रान्सको टुलुज पठाउँदै छ। उक्त टोलीमा निगमलाई ऋण उपलब्ध गराउने कर्मचारी सञ्चय कोषबाट तीन र नागरिक लगानी कोषबाट दुईजना कर्मचारी छन् भने पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल र निगमका वित्तीय निर्देशक उमेश पौडेल रहनेछन्।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए ३२० र एउटा बोइङ ७५७ छन्। साढे २९ वर्ष पुरानो बोइङलाई पनि निगमले बिक्री गर्ने भएको छ। निगमले अर्को बोइङ गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई बिक्री गरिसकेको छ। तर, स्वामित्व हस्तान्तरण भइसकेको छैन। अध्यक्ष भट्टलाई निगमले साढे ३० वर्ष पुरानो विमान १५ करोड हाराहारीमा बिक्री गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com