वशन्त ऋतुको भोलिपल्टै नै न्युयोर्कमा १५ इन्चसम्म हिमपात हुने


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

राष्ट्रिय मौसम सेवाका अनुशार मंगलबारदेखि न्युयोर्कमा वशन्त ऋतु सुरु भएको छ । तर वशन्त ऋतु सुरु भएको भोलिपल्टै न्युयोर्कले १५ इन्चसम्म हिमपातको सामना गर्नुपर्ने अपेक्षा गरिएको छ ।

सामान्यतया वशन्त ऋतु मार्चको २० वा १९ मा सुरु हुने गर्छ । तर यो बर्ष र आगामी बर्ष भने वशन्त ऋतुको पहिलो दिन मार्च २० रहेको छ । सन् २०२० मा भने मार्च १९ मा वशन्त ऋतु सुरु हुनेछ । त्यसपछि सन् २०२४ बाहेक सन् २०२५ सम्म मार्च २० मा नै वशन्त ऋतु सुरु हुनेछ ।
न्युयोर्कमा मंगलबार दिउसो १२ बजे १५ मिनेट जाँदा वशन्त ऋतु सुरु भएको छ । तर त्यसको २४ घण्टा पनि नपुग्दै विन्टरमा जस्तो हिमपातको सामना गर्नुपर्ने भएको छ ।

न्युयोर्कमा बुधबार विहान ६ बजेदेखि हिमपात सुरु हुने बताइएको छ । बिहानदेखि सुरु हुने हिमपात दिउसोसम्म १५ इन्चसम्म पुग्नसक्ने जनाइएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बुधबार न्युयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरेका छन् । उनले अप्रत्यासित मौसमको सामना गर्नुपरेकाले सबैलाई त्यसका लागि तयार रहन अनुरोध गरेका छन् ।

राष्ट्रिय मौसम सेवाले हिमआँधीले उत्तरपूर्वी न्युजर्सी र दक्षिणपूर्वी न्युयोर्कका भागहरु प्रभावित हुने जनाएको छ । हिमपात र आँधीपछि बुधबार बेलुका तिर यात्रा गर्न मुस्किल हुने जनाइएको छ ।

न्युयोर्क सिटीमा बुधबार र बिहिबार वैकल्पिक साइड पार्किङ बन्द हुने बताइएको छ । हिमआँधीका कारण न्युयोर्क र न्युजर्सीमा सार्वजनिक यातायात प्रभावित हुनेछ भने हवाई सेवा पनि प्रभावित हुने जनाइएको छ । अमेरिकन एयरलाइन्स, डेल्टा र युनाइटेडले कैयन फ्लाइटहरु रद्द गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com