न्युयोर्कमा हिमआँधीका क्रममा तटीय बाढीको चेतावनी


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

न्युयोर्कमा बुधबार विहान ६ बजेदेखि आउने भनिएको भयानक हिमआँधीको क्रममा र त्यसपछि न्युयोर्कमा विभिन्न स्थानमा तटीय बाढीको चेतावनी दिइएको छ । बुधबारराती र दिउसो मध्यमखालको तटीय बाढी आउने मौसम सेवाले जानकारी दिएको छ ।

खासगरी बुधबार विहान ९ बजेदेखि दिउसो ३ बजेसम्म त्यस्तो बाढी आउनसक्ने जनाइएको छ । न्युयोर्क सिटी र लङ आइल्याण्ड क्षेत्रमा त्यस्तो बाढी आउनसक्ने जनाइएको छ । बु्रकलिन र दक्षिणी क्वीन्समा पनि तटीय बाढीको चेतावनी दिइएको छ ।

बुधबार बिहानदेखि हिमपात सुरु हुने र दिउसोसम्म १५ इन्चसम्म हिमपात हुनसक्ने जनाइएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बुधबार न्युयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरेका छन् । उनले अप्रत्यासित मौसमको सामना गर्नुपरेकाले सबैलाई त्यसका लागि तयार रहन अनुरोध गरेका छन् ।

राष्ट्रिय मौसम सेवाले हिमआँधीले उत्तरपूर्वी न्युजर्सी र दक्षिणपूर्वी न्युयोर्कका भागहरु प्रभावित हुने जनाएको छ । हिमपात र आँधीपछि बुधबार बेलुका तिर यात्रा गर्न मुस्किल हुने जनाइएको छ ।

न्युयोर्क सिटीमा बुधबार र बिहिबार वैकल्पिक साइड पार्किङ बन्द हुने बताइएको छ । हिमआँधीका कारण न्युयोर्क र न्युजर्सीमा सार्वजनिक यातायात प्रभावित हुनेछ भने हवाई सेवा पनि प्रभावित हुने जनाइएको छ । अमेरिकन एयरलाइन्स, डेल्टा र युनाइटेडले कैयन फ्लाइटहरु रद्द गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com