बिमान दुर्घटनामा मृतकका आफन्तहरुप्रति समवेदना, घाइतेहरुको स्वास्थ्य लाभको कामना


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

काठमाडौंमा भएको युए बांग्ला बिमान दुर्घटनामा कम्तीमा ४९ जनाको ज्यान जानुका साथै २२ जना घाइते घाइते भएपछि मृतकका आफन्तहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

नेपालमा रहेको अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति सहानुभूति र समवेदना व्यक्त गरेको छ । त्यस्तै एनआरएन अध्यक्ष भवन भट्टले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा आज अपराह्न १४ः१८ बजे दुर्घटनामा परेको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ । उहाँले दुर्घटनाका कारणबारे गम्भीर छानविन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काँग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युए बङ्गला विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ । “घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

नेकपा (एमाले) निकट अनेरास्ववियूले आज बङ्गलादेशबाट नेपाल आउन लागेको युएस बङ्गला विमान दुर्घटना भएकामा दुःख व्यक्त गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष नवीना लामाले आज विज्ञप्ति जारी गर्दै आज अपराह्न भएको उक्त विमान दुर्घटनाको दुःख व्यक्त गर्दै घाइतेको यथाशीघ्र उपचार र निःशुल्क उपचार गराउन माग गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com