इतिहासकै बलियो सरकार, ओलीमाथी ७५ प्रतिशत सांसदको विश्वास


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

नेपालको इतिहासमै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सबैभन्दा बलियो सरकार बनेको छ । करिब ६ दशकपछि तीन चौथाइ बढी जननिर्वाचित सांसदको विश्वास मत ओली सरकारलाई जुटेको छ भने इतिहासमै सबैभन्दा बलियो जननिर्वाचित सरकारसमेत बनेको हो ।

एमाले अध्यक्षसमेत रहेका ओलीले जननिर्वाचित प्रतिनिधिसभाको कुल २७५ सांसद संख्याको ७५ प्रतिशत बढी सांसदको विश्वास मत पाएसँगै नेपालको इतिहासमै सबैभन्दा बलियो र २०१५ को आम निर्वाचनपछि बीपी कोइराला नेतृत्वको सरकारपछि दुई तिहाइ सांसदको समर्थनमा बन्ने दोस्रो शक्तिशाली सरकार बनेको हो ।

२०१५ सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसले १०८ सिटमध्ये ७४ सिट हासिल गर्दै कोइराला नेतृत्वमा सरकार गठन गरेको थियो ।,राजधानी दैनिकले लेखेको छ । सो सरकारमा ६८ दशमलव ५१ प्रतिशतको समर्थन थियो । तर राजा महेन्द्रले विशेष अधिकार प्रयोग गरेर १८ महिनामै संविधान र सरकार भंग गरेका थिए ।

ओली सरकारलाई भने २७५ सिटमध्ये २०८ सांसदको समर्थन जुटेको छ । उक्त संख्या ७५ दशमलव ६३ प्रतिशत हो । नेकपा माओवादी केन्द्रको समर्थनमा गत ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिसभाको बैठकमा विश्वासको मत लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com