अमेरिकी फौज सबैभन्दा शक्तिशाली, नेपालको स्थान कहाँ ?


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

२७ फागुन, काठमाडौं । फौजी शक्तिका हिसावले अमेरिका पहिलो नम्बरमा छ । दोस्रो स्थानमा रुस र तेस्रो स्थानमा चीन छ भने भारत चौथो स्थानमा पुगेको छ ।

विश्वको आधुनिक बल र फौजी शक्तिबारे विश्लेषण गर्ने सोध संस्थान ‘ग्लोबल फायर पावर‘ले २०१७ को फौजी शक्तिका हिसावले १३३ देशको सूची जारी गरेको छ ।

यसमा परम्परागत युद्ध हतियार र उपकरणको मात्र विश्लेषण गरिएको छ । परमाणु हतियार सामेल छैन ।

यो सूचीमा नेपाल पनि अटाएको छ । नेपाल ९७ औं स्थानमा छ । पुछारमा भुटान छ ।

पाकिस्तान १३ औं नम्बरमा

फ्रान्स र बेलायत भारतभन्दा पनि पछि छन् । बीबीसी संवाददाता शकील अख्तरका अनुसार पाकिस्तान विश्वको १३ औं सबैभन्दा ठूलो सुरक्षा फौज भएको मुलुक हो । रक्षा बलको सन्दर्भमा पाकिस्तानले सन् २०१७ मा केही क्षमता विस्तार गरेको थियो ।

अमेरिकाको रक्षा बजेट ५८७ अरब डलर छ जबकी चीनको १६१ अरब डलर रक्षा बजेट रहेको छ । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख एवं रिजर्व सैनिकको संख्या १४ लाख रहेको छ । यसका साथै तीन हजार लडाकु विमान एवं साढे छ हजार ट्यांक रहेका छन् । पछिल्लो समय चीनको सैन्यशक्ति अक्रामक हुँदै गएको छ ।

यस सूचीमा ८१ लाख जनसंख्या भएको इजरायल ९ नम्बरमा रहेको छ । इजरायलसँग ६५० लडाकु विमान एवं २५ सयभन्दा धेरै ट्यांक छन् ।

यसैगरी उत्तर कोरिया १४ औं र सीरिया १८ औं नम्बरमा छन् ।

अमेरिकासँग १३ हजार जहाज

ग्लोबल फायर पावरका अनुसार अमेरिकामा १३ हजार बढी जहाज छन् । जसमा लडाकु, परिवहन एवं हेलिकोप्टर छन् । त्यसो त चीनसँग जम्मा तीन हजार लडाकु जहाज छन् । भारतसँग पनि दुई हजार बढी लडाकु जहाज रहेको छ । सक्रिय सैनिकको संख्या १३ लाख भन्दा धेरै रहेको छ । २८ लाख रिजर्भ जवान छन् । जसलाई आवश्यक परेको वेला सैन्य सहयोगमा प्रयोग गर्न सकिन्छ ।

भारतमा ट्याङ्कको संख्या ४ हजार ४ सय छ । युद्धपोत तीन हजार छन् ।

सूचीमा उल्लेख भएअनुसार पाकिस्तान विश्वका १३ औ सैन्य शक्तिशाली देश हो जहाँको रक्षा बजेट सात अरव डलर हुने गरेको छ । सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार छ भने तीन लाख रिजर्भ सैनिक रहेका छन् ।

हेलिकोप्टर एवं ट्रान्सपोर्ट जहाज समेत लडाकु जहाजको संख्या एकहजार रहेको छ । ट्यांकको संख्या तीन हजार रहेको छ । पाकिस्तानमा युद्धपोत छैन ।

Source : Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com