रोहिंग्या शरणार्थीलाई हात्तीको खतरा, अहिलेसम्म १० जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, जेनेभा । रोहिंग्या शरणार्थी बस्तीमा पसेका हात्तीको आक्रमणमा परी विभिन्न स्थानमा १० जना शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

राष्ट्र संघको शरणार्थी मामिला हेर्ने संस्था यूएनएचसीआरले हात्ती आक्रमणले रोहिंग्या शरणार्थीहरुको शिविरमाथि खतरा रहेकोबारे आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त क्षेत्रलाई सुरक्षा प्रदान गर्न छिटै नयाँ योजना ल्याउने बताएको छ।

म्यानमारको रोहिंग्या समुदायमाथि सेनाले गरेको कारबाहीबाट रोहिंग्या समुदायका हजारौं नागरिकले ज्यान गुमाएका छन् भने झन्डै सात लाख रोहिंग्या नागरिक विस्थापित भएर बंगलादेश लगायतका छिमेकी मुलुकमा पुगेका छन्।

पछिल्लो समय रोहिंग्या शरणार्थी विरुद्ध म्यानमारको सेनाले कडा कारबाही चलाएपछि देशबाट विस्थापित हुने शरणार्थी संख्यामा उल्लेख्य वृद्धि भएको थियो। यसको बंगलादेश लगायतका देशमा नकारात्मक प्रभाव परेपछि ती देशहरुले आफ्नो नाकामा सुरक्षा स्थिति बलियो बनाएका छन्। कतिपय शरणार्थीले जंगली क्षेत्रमा बस्ती बसाएका कारण उक्त क्षेत्रमा जनावरको आक्रमणबाट कैयौंले ज्यान गुमाएका खबर आउने गरेका छन्।

पछिल्लो समय बंगलादेशको कुटुपालुङ शरणार्थी शिविर र वरपरका क्षेत्रमा हात्तीको आक्रमणमा परी १० शरणार्थीले ज्यान गुमाएका यूएनएचसीआरको दाबी छ। आक्रमणबाट दर्जनौं शरणार्थी घाइते समेत भएका राष्ट्र संघले जनाएको छ। स्रोत-रासस एएफपी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com