अनसनमा बसेका रेमश चौधरीले उपचार गर्न नमानेपछि काठमाडौं ल्याइदै


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, धनगढी । जेलभित्रै आमरण अनसनमा बसेका रेमश चौधरी काठमाडौंस्थित सेन्ट्रल जेल चलान भएका छन् । टीकापुर घटनाका अभियुक्त चौधरीले उपचार गर्न नमानेपछि काठमाडौं ल्याउने तयारी भएको हो ।

सात दिनदेखि जेलभित्रै अनसन बसेका चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै सेती अञ्चल अस्पतालले उपचारका लागि काठमाडौं रिफर गरिएको जनाएको छ ।

कारागार प्रशासनले चौधरीलाई शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पुर्‍याएको थियो । शनिबार बिहान अनसन टुटाउने प्रयास भए पनि राष्ट्रिय जनता पार्टीको निर्णय नआउँदा अनशन टुटाउन सम्भव भएन । चौधरीले सेती अञ्चल अस्पतालमा उपचार गर्न मानेनन् । उनको रक्तचाप निकै घटेको चिकित्सकले बताएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले चौधरीलाई हवार्इजहाजमार्फत काठमाण्डौस्थित केन्द्रीय कारागारमा पठाउने तयारी भएको जानकारी दिए ।

चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी सपथ गराउनु पर्ने लगायतका माग राख्दै आमरण अनसनमा बसेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com