वायु प्रदूषणबाट नेपालमा प्रत्येक वर्ष ३५ हजारको मृत्यु


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ ।

प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताउनुभयो ।

नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्नुहुँदै नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताउँदै दुई दशमलव पाँच माइक्रोनका धुलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक रहेको जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्योपचार

नोबेल शिक्षण अस्पताल विराटनगरले रु चार करोड ५४ लाख ७१ हजार रकम बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा उपलब्ध गराएको छ ।

दश महिनाका अवधिमा न्यून आर्थिक अवस्था भएका ७६४ बिरामीलाई उक्त रकम बराबरको निःशुल्क उपचार सेवा विपन्न नागरिक औषधोपचार कोषअन्तर्गत उपलब्ध गराएको अस्पतालका निर्देशक डा राजेश नेपालले बताउनुभयो ।
छ प्रकारको रोग भएका बिरामीको सहुलियतमा उपचार गरेर औषधिसमेत निःशुल्क उपलब्ध गराइएको जनाइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com