Follow @khasokhasmag

मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड, तरकारीमा विष, खसीमा संगिनी सुई, माछामा फर्मालिनको प्रयोग


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

फागुन २५, उत्पादक र उपभोक्ताले अब विषादी न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिको सहकार्य तथा राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा भएको विषादी न्यूनीकरण सचेतना कार्यशालाका विज्ञ तथा सहभागी वक्ताले त्यस्तो कुरामा जोड दिएका हुन् । अहिले उपभोक्ता र उत्पादकले पनि जथाभावी विषादीको प्रयोग र उपभोग गरिरहेको भन्दै बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युत ढकालले अब सचेत बन्नुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै ढकालले समयमै सचेतता नअपनाउने हो भने मानिसले विषादी सेवनका कारण गम्भीर रोगको शिकार भई अकाल मृत्युवरण गर्नुपर्ने बताए । प्रमुख अतिथि समेत रहेका ढकालले गमलामा रहेको विरुवामा पानी सिञ्चन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले तरकारी बारीमा कडा खाले विषादी प्रयोग, खसी र सुँगुरमा संगिनी सुइ, कुखुरामा एन्टीवायोटिक र भारतबाट आयात हुने माछामा फर्मालिङ जस्ता घातक पदार्थको प्रयोगले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको बताए । महर्जनले मासुको तौल बढाउन संगिनी सुइको प्रयोग भएको र यसले मानिसमा बाँझोपनका साथै अन्य थुप्रै समस्या देखाउन थालेको बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बरिष्ठ कलाकार लय संग्रौला, बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं। १का अध्यक्ष अग्निप्रसाद पाण्डेले विषादिमुक्त अभियान सञ्चालन र अग्र्यानिक उत्पादन तथा उपभोगमा जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सचिव गोविन्द सुवेदीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै उत्पादकदेखि उपभोक्तासम्म सचेत हुनुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले विषादी न्यूनीकरणका लागि जनचेतना अभियानलाई गाउँ र घर–घरसम्म पु¥याउनुपर्ने बताए । कार्यपत्र प्रस्तुतिपछि सहभागीहरुले विज्ञहरुलाई विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव एकराज गिरीले गरेका थिए । कार्यक्रममा झापाका विभिन्न क्षेत्रका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी गरी एक सयभन्दा बढीको सहभागिता थियो ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com