आज सभामुख पदको मनोनयन दर्ता, वाम गठबन्धनबाट कृष्ण बहादुर महरा


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

फागुन २५, काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा शुक्रवार मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएको छ । शुक्रवार दिउँसो १ः३० बजे मनोनयन गर्ने उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ।

एमाले र माओवादीबीच भएको पदीय भागवण्डामा माओवादीले पाएको सभामुख पदमा यसअघि उपप्रधानमन्त्री सहित विभिन्न मन्त्रालय सम्हालिसकेका माओवादी नेता कृष्ण बहादुर महरालाई जिम्मेवारी दिन लागिएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टी नेता कृष्णबहादुर महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा शुक्रबार बिहान बसेको पार्टी हेडक्वार्टरको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

सभामुखको उम्मेदवार तय गर्न बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा छलफल भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com