एपी १ को स्पष्टिकरणः आकस्मिक लाभ कर तिर्ने दायित्व बुद्ध लामाको


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

नेपाल आइडल बुद्ध लामाले पुरस्कारमा जितेको कार चढ्न नपाएको सार्वजनिकरुपमा गुनासो गरेपछि एपी१ टिभीले यसबारेमा विज्ञप्ति निकालेर स्पष्टिकरण दिएको छ । एपी१ ले गाडी पहिले नै लामालाई हस्तान्तरण भइसकेको र अहिले पनि उनीसँगै रहेको जनाएको छ ।

‘तोकिएको सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमा पाएको कारको साँचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइसकिएको छ र उक्त कार त्यतिबेलादेखि उनीसँगै छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै कारको कागजी स्वामित्व बुद्धको नाममा गर्न नियमअनुसार नेपाल सरकारलाई लामाले कारको मूल्यको २५ प्रतिशत आकस्मिक लाभ कर तिर्नैपर्ने नियम विज्ञप्तिमा स्मरण गराइएको छ ।

‘उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटक-पटक जानकारी गराइएको छ । उक्त कर नेपाल सरकारलाई तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौ,’ एपी१ले भनेको छ ।

बुद्धले पाएको महिन्द्रा केयूभी १०० कारको मूल्य करिब ३२ लाख रुपैयाँ पर्छ भने यसको २५ प्रतिशत आकस्मिक लाभकरवापत बुद्धले करिब ८ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

यसवाहेक विजेताले पाउने म्यूजिक एल्बमका लागि बुद्धले नै सिफारिस गरेका असु सेन लामालाई जिम्मा र अगि्रम रकमसमेत भुक्तानी गरिएको एपी१ ले स्पष्ट पारेको छ । विदेश भ्रमणमा रहेको बेला समयाभावका कारण उक्त एल्बम बनाउन ढिलो भएको स्वीकार्दै विज्ञप्तिमा सम्झौताको एक वर्ष सकिनु अगावै यो सम्पन्न हुने जनाइएको छ ।

‘नेपाल आइडलको मञ्चमार्फत एक परिवार/समूहबाट माथि उठ्दै आज सफलताको जुन तहमा बुद्ध लामा पुगेका छन्, त्यसमा एपिवान एचडीलाई गर्व छ किनकी यो एपिवान एचडीकै कारणले सम्भव भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

Source : Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com