नेपालका चार्टड एकाउन्टेन्ट्सलाई अस्ट्रेलियामा अवसर


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

नेपालका चार्डट एकाउन्टेन्टका लागि अब अस्ट्रेलियामा रोजगारीको अवसर खोज्ने सजिलो भएको छ।

बुधबार नेपाल चार्टड एकाउन्टेन्ट्सहरुको साझा संस्था दी इन्सिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ नेपालले अस्ट्रेलिया न्युजिल्यान्डको आधिकारीक चार्टड एकाउटेन्ट्स सीए अस्ट्रेलिया, न्युजिल्यान्ससँग सम्झौता गरेपछि अबको बाटो सहज बनेको हो ।

यसअघि नेपालबाट पढेर आएका चार्टड एकाउन्टेन्ट्सहरुलाई यहाँ पुनः अवसरको खोजिमा यहाँको कोर्स पढ्नुपर्ने बाध्यता थियो। अब यो सम्झौता पछि तीन महिनाको एउटा फाइनान्सिङ रिर्पोट पढेर परीक्षा दिएपछि अस्ट्रेलियाको मान्यता प्राप्त गर्ने संस्थाका अध्यक्ष प्रकाशजंग थापाले बताए।

बुधबार सीए अस्ट्रेलिया न्युजिल्यान्डको सिडनीस्थित कार्यालयमा सम्पन्न सम्झौतामा नेपालका चार्टड एकाउन्टेन्ट्सहरुको संस्थाका अध्यक्ष प्रकाशजंग थापा र सीए अस्ट्रेलिया न्युजिल्यान्डका प्रमुख कार्यकारी रिक एलिसले सम्झौतापत्रमा हस्ताक्षर गरे।

‘यो हाम्रो लागि भन्दा नयाँ पुस्ताका प्रतिभाशाली नेपाली सीएहरुको लागि अवसरको वाटो बुन्ने काम गरेका हौ,’ अध्यक्ष थापाले सेतोपाटीसँग भने।

केहि वर्ष अस्ट्रेलियामा सीएको जागिर खाएर नेपाल फिरेका थापालाई आफूले भोग्नु परेको समस्या नयाँ पिढीले भोग्नु नपरोस भन्ने सोच थियो। त्यही सोचले नै यो आपसी साझेदारी सम्भव भएको थापाले  बताए।

कार्यक्रममा सीए अस्ट्रेलिया न्युजिल्यान्डका प्रमुख कार्यकारी रिक एलिसले यो सम्झौताले दुई देश बिचको सम्वन्ध सुढृद हुनुका साथै आपसी सहयोगमा बिस्तार हुने बताए। उनले यो सम्झौता अनुरुप नेपालका सीएले फाइनान्स रिपोर्टसको परीक्षा नेपालबाट दिन पाउने तर नयाँ नीति अनुरुप दुई दिने तालिम भने यतै लिनुपर्ने बताए ।

यता न्यू साउथवेल्सका महाबाणिज्यदूत दीपक खड्काले नेपाल र नेपालीको लागि ब्यवशायिक दक्षता अभिबृद्धीको नयाँ वाटो खुलेको बताए। ‘यो साच्चीकै खुसी र महत्वको अवसर हो, दुई देशबीचको यो सम्झौताले नेपालका प्रतिाभावाशाली युवाहरुलाई यहा आएर काम गर्ने वाटो खुलेको छ,’ महाबाणिज्यदूत खड्काले भने।

उनले यो सम्झौता बिवाहजस्तो भएको र आगामी दिनमा यसको पारस्परीक सम्वन्धले थुप्रै सफलताका गाथा बुन्ने टिप्पणी गरे।

कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारी, पूर्व अध्यक्षहरु गोवा कटुवाल, महेन्द्र ओली, पूर्व युवा संयोजक विजय पोखरेल, उपाध्यक्ष नन्द गुरु लगायतको उपस्थिति थियो।

‘सम्भवत ब्यवसायीक संस्थाहरुमा नेपाल र अष्ट्रेलियाको पारस्परीक सम्वन्ध बिस्तारमा यो पहिलो सम्झौता हुनुपर्छ, यसले हाम्रो जस्तो मुलुकका प्रतिभाका लागि सम्भावना ढोका समेत खोल्ने छ,’ एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारीले सेतोपाटीसँग भने।

एनआरएनका प्रवक्ता डिला खरेलले सन्चालन गरेको कार्यक्रममा संस्थाको अस्ट्रेलिया च्याप्टर समेत गठन गरिएको आधिकारीक घोषणा गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com