‘नेपालबाट चोरिएका अन्य मूर्ति पनि अमेरिकाबाट फर्काउन प्रयास गर्छौं’ – महाबाणिज्यदूत


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

नेपालबाट चोरी भई न्युयोर्क ल्याइएका झण्डै ८ सय बर्ष पुराना दुई मूर्ति नेपाललाई नै फिर्ता दिइने सहमति पत्रमा न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टका अध्यक्ष डानियल एच विस र नेपाल सरकारका महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभएको छ । एउटा टंगालहिटी पाटनमा रहेको उमा महेश्वरको मूर्ति र अर्को यट्खाटोल काठमाडौमा रहेको बुद्धको पूर्णकदको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । तीमध्ये उमा महेश्वरको मूर्ती १२ औंदेखि १३ औं शताब्दीमा निर्माण भएको र बुद्धको ११ औंदेखि १२ औं शताब्दीमा निर्माण गरिएको विश्वास गरिएको छ । ती मूर्तिहरु अप्रिलको पहिलो साता नेपाल लगिनेछ । नेपालबाट चोरिएका यस्ता मूर्ति र सामाग्रीहरु अमेरिकामा कैयन रहेका छन् । महावाणिज्यदूत मरासिनीले त्यस्ता मूर्ति र पुरातात्विक महत्वका सामाग्रीहरु फर्काउन प्रयास गर्ने बताउनुभएको छ । खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग मरासिनीले गर्नुभएको कुराकानी ।

यी चोरिएका मूर्तिहरु कसरी फर्काउन सम्भव भयो ?

सन् १९८० दशकमा ती मूर्तिहरु नेपालबाट चोरिएको भन्ने पत्ता लाग्यो । लैनसिंह बाङदेलको पुस्तक स्टोलन इमेजेज अफ नेपालमा यी मूर्तिहरुको विवरण सहित उल्लेख छ । मूर्तिहरु कहाँका हुन् र कहिले चोरिए भन्ने विवरण पुस्तकमा रहको छ । संग्राहालयले पनि यो कुरा पत्ता लगायो । त्यसपछि हामीले नेपालमा पुरातत्व विभागमा सम्पर्क गरेर ती मूर्तिहरुबारे बुझ्यौं । पुरातत्व विभागले ती मूर्तिहरु नेपालकै रहेको र चोरिएको पुष्टी गर्दै परराष्ट्र मन्त्रालयमार्फत फिर्ता लैजानका लागि पहल गरिदिन हामीलाई अनुरोध गरेको थियो । त्यसपछि हामीले संग्रहालयमा आएर हेरेर ती मूर्तिहरु फर्काउनका लागि पहल गर्यौं । यसै सन्दर्भमा संग्राहालयका अध्यक्ष र म बीच मूर्तिहरु फर्काउने विषयमा सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

ती मूर्तिहरु कस्ता मूर्तिहरु हुन् ? कहाँबाट चोरिएका हुन् ?

तीमध्ये एउटा उभिएको बुद्धको मूर्ति रहेको छ । यो ढुंगाबाट बनेको मूर्ति हो र ११ औं शताब्दीमा बनेको विश्वास गरिएको छ । यो मूर्ति काठमाडौंको यट्खाटोलमा रहेको थियो । र त्यहीबाट चोरिएको थियो । अर्को उमामहेश्वरको मूर्ति हो । पाटनको टंगालमा रहेको त्यो मूर्ति १२ औं शताब्दीमा बनेको र त्यहीबाट चोरिएको पत्ता लाग्यो । ती दुबै मूर्ति हेर्दा हाम्रो त्यतीबेलाको सभ्यतासमेत झल्किन्छ । यी मूर्तिहरु नेपाल फर्काउन सकिने भयो भन्दा हामीलाई निकै खुशी लागेको छ ।

यी मूर्तिहरु कहिले र कसरी नेपाल फर्काइदैछ ?

यी मूर्तिहरु संग्राहालय र हामीले अप्रिलको पहिलो साता संयुक्त रुपमा नै नेपाल लैजाने योजना बनाएका छौं । त्योबीचमा उपयुक्त फ्लाइट, महत्वपूर्ण मूर्तिहरु भएकाले त्यसको लजिष्टिक प्रकृया पुर्याउनुपर्छ । हामीले एकमहिनाभित्रमा नै ती मूर्तिहरु नेपाल लैजाने योजनामा छौं । मूर्ति फर्काउनका लागि गत अक्टोबरबाट प्रकृया सुरु भएको हो । हामीले थाहा पाउन बित्तिकै संग्राहालयमा सम्पर्क गरेका थियौं । थाहा पाउनासाथ कुनै कसर बाँकी नराखी समयमै हामीले प्रकृया अगाडि बढाएका हौं ।


ती मूर्तिहरु कसरी संग्राहालयसम्म आइपुगे ?

यी मूर्तिहरु संग्राहालयलाई कसैले दिएको हो । नेपालबाट चोरिएपछि कसैले किनेको देखिन्छ । एकपछि अर्कोले किन्ने प्रकृया हुँदै पछिल्लो किन्ने व्यक्तिमार्फत मूर्ति संग्रहालयमा आएको देखिन्छ । उक्त व्यक्तिले त्यो मूर्ति संग्राहालयलाई दान गरेको बुझिन्छ । म्युजियमले चोरिएको भन्ने थाहा पाउने बित्तिकै मूर्तिहरुलाई सार्वजनिक प्रदर्शनीस्थलबाट हटाएर छुट्टै राखेको थियो ।


नेपालमा फर्काइएपछि ती मूर्तिहरु नेपालमा सुरक्षित होलान् ?

पक्कै सुरक्षित हुन्छन् । मैले पुरातत्व विभागको महानिर्देशकसँग कुराकानी पनि गरेको थिएँ । उहाँपनि निकै उत्साहित हुनुहुन्छ । नेपाल सरकारको चोरिएको सम्पत्ति फिर्ता आउँदा पक्कै पनि राम्रोसँग संरक्षण हुनेछ ।

नेपालबाट चोरिएका कैयन मूर्ति र पुरातात्विक सामानहरु अमेरिकाका विभिन्न ठाउमा रहेको पाइन्छ । ती फिर्ता गराउन पनि पहल गर्नुहुन्छ कि ?

हामीले यहाँका संग्राहालयहरु भ्रमण गरेर त्यहाँका पदाधिकारीहरुसँग कुरा गर्ने प्रकृया चालेका छौं । त्यस्ता मूर्तिहरु फर्काउन पनि हाम्रो प्रयास निरन्तर हुनेछ । अहिलेका लागि हामीले यी मूर्ति फर्काउन सक्नु पनि ठूलो उपलब्धी हो । त्यसमा पनि चोरिएका हिन्दु भगवान र बुद्धका मूर्ति एकैपटक फिर्ता लैजान पाउनु गौरवको कुरा हो । त्यसका लागि मेट्रोपोलिटन म्युजियम अफ आर्टलाई धन्यवाद दिन्छौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com