राष्ट्रपतिका लागि एउटै विद्यालय पढेका भण्डारी र राईको उम्मेदवारी


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

संघीय गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईविच प्रतिस्पर्धा हुने भएको छ । उहाँहरु दुवै जना कुनैबेला दुबै भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी हुनुहुन्थ्यो ।

नेकपा (एमाले) स्थायी कमिटिको बैठकले मंगलबार राती वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लगत्तै कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले भोजपुरकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सो निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।

वाम गठबन्धनले वर्तमान राष्ट्रपतिलाइ नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै औपचारिकताको लागि मात्रै कांग्रेसले पनि आफ्नो पार्टीबाट उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

राष्ट्रपतिमा भण्डारीको विजय निश्चित जस्तै छ । वर्तमान राष्ट्रपतिलाई उम्मेदवार नबनाएमा भने कांग्रेसले उम्मेदवारी नदिने बताएको थियो । राष्ट्रिय सभामा सरकारबाट मनोनयन हुने तीन सदस्यको विषयमा राष्ट्रपति भण्डारीले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले यस्तो निर्णय लिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com