नदी अवैध रुपमा उत्खनन : छुट्टाछुट्टै जरिवाना असुल, एउटै कसुरमा


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

फागुन २३, सिन्धुपाल्चोक । अवैध रूपमा नदीबाट बालुवा, गिट्टीलगायत सामग्री उत्खनन् गर्नेहरूसँग जिल्ला समन्वय समितिले एकै प्रकृतिको गल्ती भए पनि फरकफरक जरिवाना असुल्ने गरेको छ।

कार्यविधिमा स्पष्ट रूपमा अंक उल्लेख गरिए पनि समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले स्वविवेकी अधिकार प्रयोग गर्दै नियमविपरीत नदीबाट बालुवा उत्खनन गर्नेसँग उल्लेख गरिएभन्दा कम जरिवाना लिएका हुन्। बालुवा, ढुंगा, गिट्टी उत्खनन्लाई व्यवस्थित गर्ने जिल्लास्तरीय अनुगमन सुपरिवेक्षण तथा समन्वय समितिले भदौ ३० गते कार्यविधि निर्माण गरी नियमविपरीत उत्खनन् गर्नेलाई कारबाही गर्न स्पष्ट नीति बनाएको छ। समन्वय समिति प्रमुख तामाङसहितको सहभागितामा कार्यविधि बने पनि उनी स्वयंले व्यक्ति हेरेर कम जरिवाना लिएको पाइएको छ।

माघ ७ गते इन्द्रावती नदीमा अवैध बालुवा उत्खनन गरिरहेको अवस्थामा तीन थान जेसीभी नियन्त्रणमा लिई पत्रसहित जिल्ला प्रहरी कार्यालयले समन्वय समितिमा पठायो। आर्थिक प्रशासन शाखालाई समितिका प्रमुख तामाङले ८० हजार जरिवाना लिने तोक लगाए। तोकेअनुसार नै शाखाले जरिवाना लिएर जेसीभी छाडिदियो। कार्यविधिको ११ नम्बर दफाको ९१० मा नदीको बहाव क्षेत्रमा मेसिनरी औजार प्रयोग गरेमा एक लाख रुपैयाँ जरिवाना नै स्पष्ट व्यवस्था छ।

त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनस्थित सुनकोसी किनारमा सशस्त्र प्रहरीले माघ १९ गते राति ११ बजे नियन्त्रणमा लिएको ना १ क २१२२ नम्बरको एस्काभेटर तामाङकै तोकका आधारमा ७५ हजार रुपैयाँ जरिवाना लिएर माघ २१ छाडियो। कार्यविधिको दफा ११ ९५० मा रातिको समयमा सामग्री उत्खनन संकलन गरेमा तोकिएको जरिवानामा ५० प्रतिशत थप हुने व्यवस्था छ। उक्त प्रावधानअनुसार एक लाख ५० हजार जरिवाना लिनुपर्नेमा आधा मात्रै लिएर छाडिएको देखिन्छ।

माघ १८ मा इन्द्रावती किनारबाट अवैध उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको बा १ क ६२८७ नम्बरको एस्काभेटरबाट भने नियमानुसार एक लाख रुपैयाँ जरिवाना लिइएको छ। जिल्ला समन्वय अधिकारी जगनाथ पन्तको तोकका आधारमा आर्थिक प्रशासन शाखाले जरिवाना लिएको हो। पन्तले शाखालाई नियमानुसार जरिवाना लिनू भन्ने तोक लगाएका थिए। भदौ ३० मा कार्यविधि बनेपछि माघ २४ मा बसेको अनुगमन समिति बैठकले पुनः कार्यविधिमा उल्लिखित जरिवाना थपघट नगर्ने निर्णय गरेको छ।

कम जरिवाना लिएर बरामद सामान छाड्नु कार्यविधिको उल्लंघन हो।

यता समन्वय समितिका प्रमुख तामाङले भने घटनाको प्रकृति हेरेर फरकफरक जरिवाना लिएको दाबी गरे। कार्यविधिमा किटान गरिए पनि व्यवसायीको भावनालाई सम्बोधन गर्न कम जरिवाना लिएको उनको तर्क छ। प्रहरीले गल्ती गर्नुपूर्व नै पक्राउ गर्ने गरेकाले समस्या आएको उनले बताए। ‘सबै सम्पन्न मात्र हुन्छन् भन्ने छैन, सामान्य आर्थिक अवस्था हुने व्यवसायीको मेसिन पक्राउ पर्दा मर्का नपरोस् भन्ने सोचेर कम जरिवाना लिइएको हो’, उनले भने, ‘बहावभित्र छिरेपछि मात्र पक्राउ गर्नुपर्छ, प्रवेश गर्नै नपाई पक्रिएको पनि छ।’

नदीबाट अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले पाँचपटक एस्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। बिनाआधार कसैलाई पनि पक्राउ नगरिएको उनको भनाइ छ। जरिवानाका विषयमा भने उनले अनभिज्ञता प्रकट गरे। अनुगमन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कार्यविधिभन्दा बाहिर गएर कम जरिवाना लिन नपाउने बताए। ‘कार्यविधिमा हामीले स्पष्ट तोकेका छौं, त्यसभन्दा कम जरिवाना लिएर बरामद सामान छाड्न मिल्दैन’, उनले भने, ‘कम जरिवाना लिएर बरामद सामान छाड्नु कार्यविधिको उल्लंघन हो।’ अनुगमन समितिले क्रसर व्यवसायी, निर्माण व्यवसायी, सरोकारवाला निकायसहितको उपस्थितिमा कार्यविधि बनाएको उनले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com