जर्सी सिटी काउन्सिल अध्यक्षसँग नेपालीका हितबारे महावाणिज्यदूत मरासिनीको छलफल


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा कार्यरत नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारोलाई भेटेर नेपालीका हितका विषयमा कुराकानी गर्नुभएको छ । जर्सी सिटीको सिटीहलमा भएको आजको भेटमा पर्यटन र वाणिज्यक्षेत्रका अवशरबारे पनि छलफल भएको छ ।

जर्सी सिटीले हालै अमेरिकामा रहेका नेपालीहरुका लागि टीपीएसको अवधि थप्नुपर्ने मागसहित प्रस्ताव पारित गरेकोमा पनि महावाणिज्यदूत मरासिनीले लाभारोलाई धन्यवाद दिनुभयो । साथै जर्सी सिटीले सिटी हलमा नेपालको झण्डा फहराएकोमा पनि मरासिनीले धन्यवाद दिनुभयो । मरासिनीले लाभारोलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो ।

जर्सी सिटी काउन्सिल अध्यक्ष लाभारोले नेपाल भ्रमणका लागि निम्तो दिएकोमा धन्यवाद दिदै नेपाल भ्रमणबारे रुची देखाउनुभयो । जर्सी सिटी र नेपालका सहरहरुबीच भगिनी सम्बन्ध गाँस्ने विषयमा पनि मरासिनी र लाभारोबीच छलफल भयो । साथै नेपालमा लगानी भित्राउने सन्दर्भमा पनि भेटमा छलफल भएको थियो ।

भेटघाटका क्रममा महावाणिज्यदूत मरासिनीले लाभारोलाई खुकुरी उपहार दिनुभएको थियो । भेटका क्रममा जर्सी सिटी मेयरका सल्लाहकार बिष्णुमाया परियार, उपमहाबाणिज्यदूत पुष्प भटट्राई, बाणिज्यदूत कृसु क्षेत्री, जर्सी सिटी नेपाली कम्युनिटीका सह संस्थापक तथा पत्रकार प्रदीप परियार थापाको पनि उपस्थीति रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com