देउवालाई अब कसले दिने चुनौती?


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

नेपाली कांग्रेसको संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना प्रतिद्वन्द्वी प्रकाशमान सिंहभन्दा दोब्बर मतले विजयी भए।

देउवाको जित सुनिश्चित छ भन्ने कांग्रेसभित्र र बाहिर पनि केही हदसम्म धेरैलाई थाहा थियो। तर देउवाले ४४ मत ल्याउदा सिंहले १९ मत मात्र ल्याउँछन् भन्ने अनुमान कमैको थियो।

प्रत्यक्षतर्फ चुनिएका २३ कांग्रेस सांसदमध्ये बहुमत देउवाइतर समूहका थिए। त्यसैले सभापति देउवाले समानुपातिकमा आफ्नो पक्षका धेरै सांसद ल्याए।

संसदीय दलमा देउवाको सुविधाजनक बहुमत कायम थियो।

तर संसदीय दलको चुनावमा प्रत्यक्षमा जितेका बहुमत सांसदले पनि देउवालाई भोट हालेको देउवा र उनीइतर खेमाले पनि स्वीकार्छन्।

प्रकाशमान सिंहलाई प्रत्यक्षमा जितेकामध्ये ८ जना र समानुपातिकका ११ जनाले मात्र भोट हालेको उनी समर्थक नेताहरूको आंकलन छ। जबकी प्रत्यक्षमा जितेका कम्तीमा १२ सांसद देउवाभन्दा फरक खेमाका थिए।

ती १२ मध्ये नारायण खडका, मिनेन्द्र रिजाल, भीमसेनदास प्रधान र उमाकान्त चौधरीले सिंहलाई भोट दिएनन्।

प्रधान र चौधरी कृष्ण सिटौला समूहका निर्वाचित सांसद हुन्। काठमाडौंको राजनीतिमा सिंह र प्रधानबीच तीव्र मनमुटाव छ, त्यसैले प्रधानले खुलमखुल्ला सिंहको विपक्षमा भोट खसाले।

मिनेन्द्र रिजाल र नारायण खड्काले पनि आन्तरिक छलफलमा सिंहलाई उनको ‘अनुदार’ व्यक्तित्वका कारण भोट खसाल्न नसक्ने बताएका थिए।

सिंहलाई सबैभन्दा ठुलो मार पार्टी महामन्त्री शशांक कोइरालाको असहयोगको पर्‍यो। कोइरालाई  सिंह आफ्नो उमेद्वारीको प्रस्तावक बनाउन चाहन्थे। कोइरालाले प्रस्तावक बन्न अस्वीकार मात्र गरेनन्, सिंहको पक्षमा खुलेर भोटसम्म मागेनन्।

देउवाले भने आफूलाई भोट दिन सक्ने विरोधी खेमाका सबै सम्भावित सांसदसँग कुरा गरे, भेटे र भोट मागे।

भर्खरै सम्पन्न आमनिर्वाचनमा कांग्रेस पार्टीले चौथो पटक प्रधानमन्त्री भएका देउवाको नेतृत्वमा चुनाव लड्यो। विपक्षी वाम गठबन्धनले झन्डै दुई तिहाइ सिट जित्यो।

देउवाले नेतृत्व छोड्नु पर्ने आवाज उठ्यो। तर संसदीय दलको चुनावमा उनी दुई तिहाइभन्दा धेरै मतले निर्वाचित भए। देउवा झनै बलिया देखिए।

अब देउवालाई कांग्रेसमा कसले चुनौती दिने?

देउवा पक्ष भित्रैबाट उनलाई चुनौती आउने सम्भावना  कमै  छ। सो समूहमा देउवाको स्वभाविक उत्तराधिकारी विमलेन्द्र निधि हुन्। २०३६ सालमा देउवाले उनलाई नेविसंघको नेतृत्व हस्तान्तरण गरेदेखि आजसम्म निधि देउवासँगै छन्।

दुई वर्षपछि आउने महाधिवेशनमा निधिले देउवालाई चुनौती दिने वा अब ‘तपाईं छोडिदिनुहोस् म लड्छु’ भन्ने सम्भावना कम छ।

देउवाइतर खेमामा उनलाई कसले चुनौती दिने टुंगो छैन। रामचन्द्र पौडेलको नेतृत्व कमजोर र असान्दर्भिक हुँदै गएपछि, यो खेमामा अब कसको नेतृत्वमा देउवालाई चुनौती दिने भन्ने प्रश्न खडा भएको छ।

पौडेलपछि स्वाभाविक रूपमा पार्टी महामन्त्री शशांक कोइरालाको पालो आउनु पर्ने हो। शशांकको भूमिका र क्षमताका कारण उनीमाथि प्रश्न उठेको छ।

यसपालि संसदीय दलको चुनावमा शशांकले प्रकाशमान सिंहलाई नसघाएपछि उनी स्वंय के चाहन्छन् भन्ने प्रश्न उठेको कांग्रेसका एक नेताले बताए।

‘देउवासँगै मिलेर जाने, पछि उनले आफूलाई नेतृत्व छोडिदिन्छन् भन्ने विश्वास शंशाकमा कता-कता देखिन्छ,’ उनले भने, ‘त्यसैले देउवासँग भिड्ने वा उनलाई फकाउने निर्णय शशांकले गर्न सकेका छैनन्।’

संसदीय दलको चुनावमा शंशाकको भूमिकापछि उनको नेतृत्व किन स्वीकार्ने भन्नेमा सिंह लगायत धेरैले प्रश्न उठाएका छन्।

त्यसमाथि पनि शशांकको नेतृत्व क्षमतामाथि धेरै अघिदेखि नै कांग्रेसमा प्रश्न उठ्ने गरेको हो।

‘उहाँमा संगठन निर्माण र विपक्षी मोर्चामा डट्ने आवश्यक उर्जा देखिन्न’ एक नेताले भने, ‘न त राजनीतिक सुझबुझ नै देखिन्छ।’

देउवालाई अब कसको नेतृत्वमा चुनौती दिने भन्ने छलफल उनीइतर खेमामा अहिले सुरू भएको छ।

रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, रामशरण महत, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला तथा युवा नेताहरू गगन थापा र प्रदीप पौडेलहरूबीच यस विषयमा धेरै पटक छलफल भएको एक नेताले बताए।

यीमध्ये केही नेतामा नेतृत्वको आकांक्षा छ तर खुलेर भन्न सकेका छैनन्।

सिटौला के चाहन्छन् भन्ने अझै प्रष्ट छैन। देउवाइतर खेमा उनको नेतृत्वमा गोलवद्ध हुने सम्भावना छैन। त्यसैले उनीसामू देउवासँग जाने वा उनीविरुद्दको मोर्चा बलियो बनाउन लाग्ने भन्ने प्रश्न छ। पछिल्ला महिनामा उनी देशभरि घुमेर कार्यकर्तासँग कुरा गरिरहेका छन्।

संसदीय दलमा देउवालाई टक्कर दिएकाले उनीइतर खेमाको नेतृत्व आफूमा आउनु पर्छ भन्ने चाहना प्रकाशमान सिंहको छ।

आउने महाधिवेशनमा कांग्रेससामू पार्टी नेतृत्वको मात्र प्रश्न हुनेछैन, त्यसपछि आउने आम निर्वाचनमा कसको नेतृत्वमा कांग्रेसले एकीकृत कम्युनिष्ट पार्टीलाई चुनौती दिन सक्छ भन्ने प्रश्न झनै अहम् हुनेछ।

‘पाँच वर्षपछि हुने संसदीय निर्वाचनमा देउवा र गच्छदारको जोडीले कांग्रेसलाई पार लगाउन सक्ने छैन,’ एक नेताले भने ‘त्यसैले पार्टीभित्र पनि हामीले देउवा-गच्छदारको विकल्पमा नयाँ अनुहार अघि बढाउनु पर्छ, जसले आम निर्वाचमा पार्टीको नेतृत्व गर्न सकोस्।’

कांग्रेसको अग्रपंक्तिमा रहेका तर सत्तामा बसेर पुराना नभएका दुई नेता शशांक र शेखर कोइराला नै हुन्। कोइराला परिवारका उत्तराधिकारी यी दुई दाजुभाइबीचको समिकरण अझै खुल्ल बाँकी नै छ।

गत महाधिवेशनमा शेखरले भाइ शशांकलाई ‘तिमी छोड, म महामन्त्री लड्छु’ भनेका थिए। त्यसको एक दि पछि शशांकले आफू धेरैअघि बढिसकेकाले छोड्न नसक्ने जानकारी दिए। शशांककाे कुरा सुनेर शेखर नै पछि हटे।

आउने महाधिवेशनमा शेखर कांग्रेसको सभापतिमा दाबी गर्ने मुडमा छन्। उनले छलफलहरूमा ‘तपाईंहरूले साथ दिने हो भने म अघि बढ्न तयार छु’ भन्ने गरेका छन्।

देउवाविरूद्ध अाउने महाधिवेशनमा लड्न तयार रहेको जनाउ दिने नेतामा अहिलेसम्म शेखर मात्र देखिएका छन्। अरू नेताले मुख खोलेका छैनन्। उनलाई समर्थन पनि दिएका छैनन्, उनको विरोध पनि गरेका छैनन्।

कतिपय युवा नेताहरूमा शेखरलाई अघि बढाएर युवा तथा पाका नेताहरूको टिम बनाउने सोच पनि देखिन्छ। तर शशांकका बारेमा के गर्ने? उनले के गर्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ।

भर्खर छलफल सुरू भएकोले देउवाइतर समूहमा नेतृत्वको प्रश्न थिग्रिन अझै केही समय लाग्नेछ।

‘नेतृत्वको टुंगो नलागि पार्टीमा आम कार्यकर्तालाई गोलबद्द गर्न सकिन्न, त्यसैले जतिसक्यो चाँडै देउवालाई कसको नेतृत्वमा चुनौती दिने भन्ने हामीले टुंग्याउनै पर्छ,’ सो समूहका एक नेताले भने।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com