गर्भवती प्रेमीका हत्या गर्ने प्रेमीलाई थुनामा राख्न आदेश
प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार
—महिला खबर—
ललितपुर । गर्भवती प्रेमिका हत्या गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पर्वत जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको छ ।
पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो ।
पर्वत जिल्लाका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले सोमबार पराजुलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनी अहिले पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
बागलुङ जैमिनी नगरपालिका–८ घर भएकी २२ वर्षीया कमला शर्माले गर्भवती भएपछि प्रदिपलाई तत्काल विवाह गर्न भनेकी थिइन् । प्रदिपले विवाह गर्न अस्विकार गर्दै उनैले लगाएको सलले घाँटी कसेर कालीगण्डकी नदीमा फलिदिएका थिए ।
गत माघ ५ मा कमला र प्रदिप पर्वत र गुल्मी जिल्लाको सिमानाकोे कालीगण्डकी पूर्तिघाट झोलुंगे पुलमा भेटे गरेका थिए । युवतीले पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै तत्काल विवाह गर्न भनेपछि पराजुलीले प्रस्तावलाई अस्वीकार गर्दै सोहीदिन हत्या गरेको प्रहरीकोमा बयान दिएका थिए ।
पराजुलीले परिवारसामु आफैँले हत्या गरेको बताएपछि परिवारले प्रहरीलाई बुझाएका थिए । प्रहरीकोमा समेत पराजुलीले आफैँले मारेको साविती बयान दिएपछि प्रहरीले पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरेको थियो ।
माघ ५ गतेदेखि युवती हराएपछि उनका परिवारले करिब पाँच दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी एकाइबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेमा माघ १७ मा फेला परेको थियो ।