नेप्से दोहोरो अंकको गिरावट, सेयर बजार घट्नेक्रम रोकिएन


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

फागुन २२, काठमाडौं । सेयर बजारको गिरावट मंगलबार पनि जारी रहेको छ । बजार खुल्ने बित्तिकै नेप्से केही समय हरियो देखिएको भए पनि फेरि बिक्री चाप बढेपछि बजारको ओरालो गति सुरु भएको हो । अर्थमन्त्रीको अभिव्यक्तिलाई बाहना बनाएर घटेको बजार घट्ने क्रम अब कहिले रोकिने हो अझै निश्चित भएको छैन । लगानीकर्ताको हतास मनस्थितिका कारण बजार घट्ने क्रम नरोकिएको फ्रन्टलाइनमा बसेर काम गरिरहेका ब्रोकरहरुको भनाई छ ।

सेयर धितो राखेर कर्जा लिएकाहरुलाई मार्जिन कल हुने त्रासका कारण पनि लगानीकर्ता सेयर बिक्री गर्न आत्तिएको अनुमान गरिंदैछ । यसबाहेक कतिपय लगानीकर्ता बजार घट्न थालेपछि अन्धाधुन्ध तरिकाले बेच्न थाल्ने भएकाले पनि बजारमा थप चाप परेको हो । सेयर बजार लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले पनि नेप्सेमा असर परेको हो ।

अर्थमन्त्रीले अनुत्पादक भनेकै विषयलाई आधार बनाएर निरन्तर बजार घट्नुपर्ने कारण पनि देखिंदैन । मंगलबार सवा १ बजेसम्मको अपडेट अनुसार नेप्से सूचक करिब १८ अंकले तल झरेर १२६९ विन्दुमा आइपुगेको छ । झन्डै २२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार भएका सबै सूचक तल झरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com