आफ्नै सुरक्षाभन्दा पिएसओ प्यारो


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

सुरक्षा संवेदनशीलता हेरेर गृह मन्त्रालयले भिआइपी तथा भिभिआइपीको सुरक्षा व्यवस्थामा खटिने प्रहरीलाई दुई वर्षभन्दा बढी एकै ठाँउमा नखटाउने नीति तय गरेको छ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि ०६९ ले नै कुनै पनि तहका प्रहरीलाई उनीहरुको सुरक्षामा दुई वर्षभन्दा बढी खटाउन नमिल्ने व्यवस्था गरेको भए पनि कार्यान्वयन भएको छैन। लगभग सबै विशिष्टको सुरक्षामा खटिने प्रहरी आफ्नो संगठनको निर्देशन लत्याएर लामो समय त्यहीँ बस्ने गरेका छन्।

एउटै व्यक्ति लामो समय कुनै विशिष्ट व्यक्तिको सुरक्षामा खटिँदा उनीहरुको सुरक्षामा ‘सम्झौता’ हुन सक्ने सम्भावना बढाउँछ भन्ने मान्यताका आधारमा दुई वर्षे प्रावधान राखिएको प्रहरी अधिकारी बताउँछन्।

यो संवेदनशीलतालाई विशिष्टहरुले भने लत्याएका छन्।

प्रहरी स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार लगातार पाँच वर्षसम्म परिवर्तन भएका छैनन्। ती हवल्दारलाई पटक पटक अन्त सरुवा गर्न खोजिए पनि राजनीतिक पहुँचका भरमा उनी राष्ट्रपति कार्यालय बसेको प्रहरी स्रोतले सेतोपाटीलाई जानकारी दियो।

उपराष्ट्रपति नन्दबहादुर पुनको सुरक्षामा खटिएका एक प्रहरी निरीक्षक र एक प्रहरी हवल्दार पनि लगातार पाँच वर्षदेखि एकै स्थानमा छन्।

त्यसैगरी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा रहेका तीन जना प्रहरी नायब निरीक्षक, एक असई र एक प्रहरी कार्यालय सहयोगी गरी पाँच जना प्रहरी पाँच वर्षदेखि उतै बसेका छन्।

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका प्रहरी पनि पाँच वर्षभन्दा बढीदेखि उनीसँगै छन्।

यसरी प्रहरीको कार्यविधि र आफ्नै सुरक्षा संवेदनशीलता ख्याल नगरी एकै प्रहरीलाई दुई वर्षभन्दा धेरै समय आफ्नो सुरक्षामा राख्नेमा राष्ट्रपति, पूर्वप्रधानमन्त्री मात्र छैनन्। अरु थुप्रै धेरै ‘पूर्व’ हरु छन्, जसको विस्तृत सूची यो लेखको अन्तिममा छ।

सुरक्षामा खटिएका विभिन्न दर्जाका ६३ जना यस्ता पिएसओ पाँच वर्षभन्दा बढी र २२ जना ४ वर्षभन्दा बढी एकै व्यक्तिको सुरक्षामा रहँदै आएको सुरक्षा सेवा निर्देशनालयको रेकर्डमा छ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि निर्माणमा संलग्न नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकालले कार्यविधि पालना नहुँदा सुरक्षा संवेदनशीलतामा सम्झौता भएको बताए।

‘विज्ञहरुको सुझावका आधारमा हामीले कार्यविधि बनाएका थियौं। पालना नहुँदा समस्या आउँछ,’ उनले भने, ‘त्यो निर्माण गर्ने गृह मन्त्रालय र पालना गराउने नेपाल प्रहरीले विचार गर्नुपर्छ।’

एकै व्यक्ति लामो समय हुँदा भिआइपी सुरक्षामा विभिन्न खालका समस्या आउन सक्ने उनले बताए। ‘लामो समय सुरक्षामा बस्दा उनीहरु परिवारका सदस्यजस्तै हुन्छन् र आफ्नो दायित्व भुल्न सक्छन्। त्यसैले दुई वर्ष समय तोकिएको हो,’ उनले भने।

सन् १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या उनकै अंगरक्षकबाट भएपछि विशिष्ट व्यक्तिको समयावधिबारे बहस भएको थियो। लामो समय उही व्यक्ति विशिष्टहरुको सुरक्षामा नराख्न त्यसपछि थप सतर्कता अपनाउन थालियो।

प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने गृहमन्त्रालयले बनाएको कार्यविधिअनुसारै प्रहरी खटाइएको दाबी गरे। पिएसओहरु समयमा नफर्किएकोबारे भने उनले कुरा चपाए।

‘समयावधि कसको के छ, त्यसमा के भएको छ हामी हेर्छौं,’ प्रवक्ता न्यौपानेले सेतोपाटीसँग भने।

विशिष्ट व्यक्तिहरुको सुरक्षामा मात्र हैन, प्रहरी संगठनमा पनि पिएसओका कारण असर पर्ने गरेको प्रहरी अधिकारी बताउँछन्।

प्रहरीका एक उच्च अधिकारीका अनुसार सुरक्षामा खटिने प्रहरीले सरुवा, बढुवा, विदेश मिसन र विभिन्न तालिममा आफू अनुकूल निर्णय गराउन आफूले सुरक्षा दिँदै आएका भिआइपीलाई दबाब दिन लगाउँछन्।

उनका अनुसार लामो समयदेखि नेपाल प्रहरीको नायब निरीक्षक असई दर्जाको बढुवा हुन सकेको छैन, जसमा भिआइपीका पिएसओको ठूलो हात छ।

‘बढुवाका लागि उनीहरुको नम्बर पुग्दैन। त्यसैले अरुको बढुवा पनि रोकिएको छ,’ ती अधिकारीले भने।

प्रहरी प्रधान कार्यलाय स्रोतका अनुसार तत्कालीन गृहमन्त्री विमलेन्द्र निधी, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तथा माआवादी नेता एवं पूर्व गृहमन्त्री जर्नादन शर्मा लगायत केही नेताको पिएसओलाई मापदण्डविपरीत बढुवा गर्न दबाब परेपछि बढुवा प्रक्रिया नै रोकिएको छ।

नियमविपरीत एउटै पिएसओ दुई वर्षभन्दा धेरै राख्ने व्यक्तिहरु को को छन्?

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा खटिएका एक जना सई र एक जना प्रहरी हवल्दार त्यहाँ बसेको ५ वर्षभन्दा बढी भयो। उनीहरुलाई पटक पटक प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाए पनि नआएको र स्वयम् भिआइपीहरुले नै नपठाएको प्रहरी दाबी छ।

त्यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, दामोदर शर्मा, रामप्रसाद श्रेष्ठ, मोहनप्रसाद शर्मा, ओमभक्त श्रेष्ठ, केशवप्रसाद उपाध्यायको सुरक्षामा खटिएका प्रहरी कर्मचारी पनि लगातार पाँच वर्षयता एकै स्थानमा बस्दै आएका छन्।

पूर्व सभामुख सुवास नेम्वाङ, माओवादी केन्द्र नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलको सुरक्षामा खटिएका प्रहरी कर्मचारी पनि ५ वर्षदेखि परिवर्तन भएका छैनन्।

कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी, पूर्वमन्त्री दानबहादुर शाही, माओवादी केन्द्र नेता पम्फा भुसाल, एमाले नेता प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, नेपाल परिवार दल अध्यक्ष एकनाथ ढकाल, कांग्रेसका बालकृष्ण खाँडको सुरक्षामा खटिएका प्रहरीलाई पनि भिआइपी मापदण्डले कुनै फरक पारेको छैन। उनीहरु पनि शक्तिकै आडमा एकै स्थानमा बस्दै आएका छन्।

त्यस्तै लोकसेवा आयोगका पूर्व अध्यक्ष टिकादत्त निरौलाको सुरक्षामा खटिएका प्रहरी कर्मचारी बसेको ५ वर्षभन्दा बढी भयो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com