संघीय सांसद्‌हरुले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिँदै


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

फागुन २०, काठमाडौं । संघीय सांसद्‌हरुले आज सपथ ग्रहण गर्दैछन्। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिनेछन्। सांसदहरुको सपथ प्रतिनिधिसभाका जेष्ठ सदस्यका रुपमा राजपाका नेता महेन्द्र राय यादवले गराउनेछन्। प्रतिनिधिसभाको सभामुख चयन नहुँदासम्म सांसदमध्ये जेष्ठ सदस्यले संसद बैठक चलाउनेछन्।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तय भएको छ।

दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारी पूरा भएको जानकारी दिँदै संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले आइतबार १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको बताएका छन्।

राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरेकाले २० गते सांसद्हरुको सपथ ग्रहण तोकिएको हो। संसद् अधिवेशन आह्वान नभएका कारण प्रतिनिधिसभा सदस्यको शपथ हुन सकेको थिएन।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपति भण्डारीले सम्बोधन भोलि गर्नेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com