नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बस्दै


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । काठमाडौं अनामनगरमा शनिबार सुरु बैठकले गत फागुन ९–११ गते लुम्बिनीमा सम्पन्न संघीय परिषद्को विस्तारित बैठकले परिमार्जनसहित अनुमोदन गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदन तथा पार्टीको आर्थिक तथा व्यवस्थापन कार्ययोजना पारित गर्नेछ ।

बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बैठकका एजेण्डाहरु पेश गर्नुभएको छ । उहाँले लुम्बिनीमा सम्पन्न संघीय परिषदको विस्तारित बैठकमा प्रस्तुत दस्तावेज परिमार्जनसहित पारित गर्ने, संगठनात्मक कार्ययोजना, पार्टी कमिटीको पूर्णता तथा कार्यविभाजन, आर्थिक तथा व्यवस्थापन कार्ययोजनासम्बन्धी विषयहरु छलफलका लागि प्रस्तुत गर्नुभएको छ ।

लुम्बिनीमा सम्पन्न संघीय परिषदको बैठकले नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिलाई पुनर्गठन गरेको थियो । समतलीय स्वरुपमा आधारित महाधिवेशन आयोजक समितिमा ९९ सदस्यीय कार्यकारी समिति, ३५ सदस्यीय सल्लाहकार परिषद् र १५ सदस्यीय विज्ञ परिषद् रहने व्यवस्था छ । बैठक भोलि (आइतबार) सम्म जारी रहनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com