राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पासाङ दोहोरिने


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

फागुन १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई दोहोर्‍याउने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पहिलो तहका नेताहरू सहमति जुटाउने प्रयासमा छन् । संविधान जारी भएसँगै निर्वाचित भएका राष्ट्रपति र उपराष्ट्रपति करिब अढाई वर्ष मात्र बहाल रहने भएकाले दुवै जनालाई फेरि दोर्‍याउने प्रयास गरिएको हो ।

बुधबार राष्ट्रपतिको उम्मेद्वारी दर्ता गर्नुपर्ने भए पनि स्पष्ट बहुमतमा रहेका वाम गठबन्धनले त्यसको निर्क्योल भने गरिसकेका छैनन् ।

तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष निकट मानिने एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘औपचारिक निर्णय गरिसकेका त छैनौं तर पार्टीले बहालवाला राष्ट्रपतिलाई नै निरन्तरता दिने निर्णय गर्छ भन्ने विश्वास छ ।’

एमाले पार्टीको नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि राष्ट्रपति बन्न इच्छुक देखिएका छन् । तर एमालेको गैर(संस्थापन पक्षका नेताले समेत भण्डारीलाई चुनौती दिने अभिव्यक्ति दिएका छैनन् ।

भण्डारीलाई नै राष्ट्रपतिमा दोहर्‍याउनु पर्ने कारणबारे नेता पौडेलको तर्क छ, ‘उहाँले राष्ट्रपतिको भूमिकामा रहेर प्रभावकारी कार्यसम्पादन गर्नुभयो, त्यसकारण उहाँलाई दोहर्‍याउनु मुलुकको निम्ति हितकर हुन्छ भन्ने लाग्छ।’ तर पछिल्ला दिनमा राष्ट्रपतिको भूमिका विवादमुक्त रहेन। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते भएपछि उपराष्ट्रपति चुनाव हुने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेलले भने, ‘एमालेले राष्ट्रपति कायमै राखेमा हामीले पनि उपराष्ट्रपति कायमै राख्नुपर्छ भन्ने समझदारी भएको छ ।’

दुवै दलले त्यसबारे औपचारिक निर्णय गर्न बाँकी छ । तर दुवै दलमा अध्यक्ष पक्षसँग पार्टीभित्र बहुमत रहेको ठान्ने जानकारहरु उनीहरुको तयारीअनुसार नै पार्टीबाट औपचारिक निर्णय हुने बताउँछन् । त्यसो भएमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन थप पाँच वर्षको निम्ति निर्वाचित हुनेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com