Follow @khasokhasmag

भाइबरबाट १० लाख ठग्दा पाँचजना पक्राउ.. मुख्य योजनाकार पाकिस्तानमा


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए। लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्यूरो (सीअाईबी) को सहयोगमा विराटनगर र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो ।

धरानका रमेशकुमार श्रेष्ठको जाहेरीका आधारमा विराटनगर र काठमाडौँबाट पाँचजना पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

पैसा रिसिभ गर्ने पक्राउ परे पनि मुख्य योजनाकार भने भारत या पाकिस्तानमा रहेको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगरका २३ वर्षीय असिम महत, उनी आमा ४० वर्षीय अनिता महत (राउत), नवलपरासी घर भई काठमाडौँ बस्ने ३० वर्षीय यसकुमार थापा मगर, लमजुङ घर भई काठमाडौँ बस्ने ३७ वर्षीय प्रितम गुरुङ र बाग्लुङ घर भई काठमाडौं बस्ने टीकाराम जैसी छन् ।

महत आमा छोरालाई गत १० माघमा विराटनगरबाट पक्राउ गरिएको डिएसपी पौडेलले जानकारी दिए । उनीहरूकै बयानका आधारमा १४ फागुनमा थापा र गुरुङ तथा १५ फागुनमा जैसी काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ गरेका असिम महत दिल्लीमा बसेर अध्ययन गरी झण्डै डेढ वर्षअघि नेपाल फर्किएका थिए । यसकुमार भने भारतको केरालामा चौकीदार गर्दै आएका थिए । उनी हाल कीर्तिपुरमा डेरा लिएर संगठित रूपमा ठगीमा लागेको पाइएको प्रहरीले जनाएको छ । गुरुङ भारतीय सेनाका हवल्दार हुन । उनी रिटायर भएपछि काठमाडौं बस्दै आएका थिए ।

उनीहरूले लिएको केही रकम भारतीय बैंकमा पनि जम्मा गरेको पाइएको डीएसपी पौडेलले बताए। भाइबर गर्ने व्यक्तिले भने पाकिस्तानी नम्बर प्रयोग गरेको देखिन्छ ।

उनका अनुसार ठगीको गिरोह नेपाल, भारत र पाकिस्तानमा बसेर धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com