सल्यानका कैदीबन्दी ​सुत्नलाई पालो कुर्छन्


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

फागुन १८, सल्यान । –जिल्ला कारागार सल्यानमा अहिले कैदी बन्दीहरुको चाप बढदै गएपछि पालो गरेर सुत्नु पर्ने बाध्यता रहेको छ । कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो ।

‘हामी अहिले धेरै छौँ, त्यसैले राति सुत्न पनि पाइँदैन’, ७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भन्नुभयो, ‘पालो लगाएर सुत्नपर्छ ,पालो कहिलै दिउँसो पर्छ कहिले राति ।’ यसरी पालो गरेर सुत्नुपर्दा निकै कठिन हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै अर्का कैदी को गुनासो पनि उस्तै रहेको छ । ३२ वर्षीय धन बहादुर बुढाले पनि यसरी पालो लगाएर सुत्न पर्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ सुत्न समेत पालो कुर्न पर्छ ,आफ्नो पालो राति परेको बेला त केही हुँदैन तर दिउँसो सुत्न परेको बेला भने साह्रै अप्ठेरो हुन्छ ।’

जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले २५ जनाको क्षमता रहेको कागारमा अहिले १ सय २ जना कैदी बन्दी बढेपछि पालो गरेर सुत्नु पर्ने बाध्यता रहेको बताउनभयो । उहाँले भन्नुभयो ‘रात परेपछि ४० जना कैदी सुत्छन्, दिउँसो पनि ४०–४२ जना पालो लगाएर सुत्ने गरेका छन् ।’

अहिले कारागारमा एक बालकसहित १ सय २ जना कैदीबन्दी रहेकोमा ८८ जना पुरुष र १४ जना महिला रहेको जेलर केसीले बताउनुभयो । हामीसँग पर्याप्त मात्रामा कोठाहरु छैनन् । उहाँले भन्नुभयो, ‘पुरुषको लागि ६ वटा कोठा रहेका छन् भने महिलाका लागि दुईवटा कोठा मात्रै रहेका छन् ।’

जेलर केसीका अनुसार कैदीभन्दा थुनुवाको सङख्या वृद्धि हुँदै गइरहेको छ । थुनुवामा ४२ जना पुरुष र ८ जना महिला रहेका छन् । अदालतबाट फैसला हुन ढिलाई भएका कारणले पनि यसरी थुनुवाको सङख्यामा वृद्धि भएको केसीको भनाई छ ।

‘यसरी क्षमताभन्दा बढी कैदीबन्दीका लागि राति सुत्ने समस्या भएपछि अहिले हामीले एउटा कोठामा आकाशेखाट बनाउन सुरु गरेका छौं, उहाँले भन्नुभयो ‘यस्तो खाटमा १२ जनालाई सुताउन मिल्छ ।’ तर पनि पालो लगाएर सुत्ने समस्या भने तत्कालका लागि रही रहने उहाँले बताउनुभयो ।
जेलर केसीका अनुसार कारागार जीर्ण र साँघुरो रहेको र वार्षिक रुपमा २० प्रतिशतका दरले कैदी बढी रहेका छन । यहाँ रहेका कैदीलाई सरुवा गर्दा पनि जिल्ला छोडी बाहिरको जिल्ला जान मान्दैनन उहाँले भन्नुभयो, ‘त्यसैले गाडीको सिटको क्षमताभन्दा बढी यात्रु कोचारे जस्तै गरी कोचारेर राख्ने गरिएको छ, । ‘जीर्ण रहेको कारागार मर्मतका लागि माथिल्लो निकायसम्म आफूले पहल गर्दा पनि कुनै वास्ता नगरेको उहाँको भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com