जाजरकोटमा ठुलोमात्रामा हतियार बरामद, २ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

जिल्ला प्रहरी कार्यालय जाजरकोटले ठुलोमात्रामा हतियार बरामद गरेको छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट बन्दुक, गोलीलगायतका हतियारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार हिजो विहिवार लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार , ‘यी हतियार माओवादी जनयुद्धकालका भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले विस्तृत अनुसन्धान गर्दैछ ।’

जाजरकोटमा पटक–पटक ठूलो परिमाणमा हतियारहरु बरामद हुँदै आएको छ । स्थानीय चुनावको समयमा खलंगा–८ पिपेस्थित रानीवनमा लुकाई छिपाई राखेको हतियार बरामद भएको थियो । अनुसन्धानका लागि बाबु–छोरा चन्द्रबहादुर शाही र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com