मन्त्री लालबाबु पण्डितले गरे, वायु गुणस्तर मापन यन्त्रको निरीक्षण


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

फागुन १६, काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्रदूषण मापन केन्द्रको अनुगमन निरीक्षण गरेका छन्। प्रदूषणको अवस्था बुझ्न बुधबार मन्त्री पण्डितले शान्तिवाटिकास्थित रत्नपार्क वायु गुणस्तर मापन केन्द्रको अनुगमन गरेका हुन्। वातावरणको कसरी मापन भइरहेको र स्टेसन कस्तो छ भनेर जानकारी लिएपश्चात् मन्त्री पण्डितले प्रदूषण उच्च छ भन्ने कुरा सबैलाई जानकारी भएको भन्दै यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेतर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए। विकसित मुलुकको स्ट्यान्‍डर्डअनुसारका यन्त्रहरू हामीले प्रयोग गरिरहेका छौँ भन्ने कुरा भर्खरै जानकारी भयो, पण्डितले भने, देशका सबै ठाउँमा यो यन्त्र प्रयोग भइसकेका छैनन्। यो विस्तार हुने क्रममा छ। मूलरूपमा प्रदूषण बढी बढाउने तत्वहरुलाई नियन्त्रणमा ल्याउनुपर्ने स्थिति छ। खासगरी अहिलेसम्म गाडीको धुवाँबाट वातावरण धेरै प्रभाव परेको भन्दै मन्त्री पण्डितले अर्को धुलोको कारण वातावरण बढी प्रभावित भएको बताए। भने, धुलोले जति मात्रामा स्वास्थ्यलाई प्रभाव गर्दछ। त्योभन्दा धेरै गुणा गाडीको धुवाँले प्रभाव पार्दोरहेछ। धुलो तथा धुवाँलाई नियन्त्रण गर्ने दिशातर्फ जनसंख्या तथा वातावरण मन्त्रालयले पाइला चालिसकेको उनले बताए। कमसेकम एक वर्षमा मास्क लगाउन नपर्ने स्थिति सिर्जना गर्न सकिन्छ कि भनेर हामीले प्रयास गरिरहेका छौँ, मन्त्री पण्डित भन्छन्, मन्त्रालय, विभागले जति स्टेसनहरु खोल्नुपर्ने हो त्यति पुगेको छैन। प्रदूषणको मात्रा बढी भएकाले यसलाई न्यूनीकरण गर्न धेरै समय लाग्ने उनले बताए। अहिले हेर्दा पनि प्रदूषणको मात्रा आठ हजारभन्दा बढी युनिटमा रहेछ। १ हजार युनिटभन्दा मुनि ल्याउनका निम्ति हामी प्रयत्न गर्छौ, उनले भने, त्यतिसम्म ल्याउन त धेरै समय लाग्छ। हालका लागि मास्क प्रयोग अनिवार्य वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल वायु प्रदूषणको अवस्था अहिले बढी भएकाले हालका लागि सुरक्षित रहन मास्क अनिवार्य रहेको सुझाउँछन्। नेपालमा ५६ स्थानमा वायु गुणस्तर मापन केन्द्र राख्ने योजना रहे पनि हालसम्म १२ स्थानमा मात्रै राख्ने सकेको अधिकारी पौडेल बताउँछन्। काठमाडौंको प्रदूषण मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्नेखालको भएकाले यसलाई नियन्त्रण विभागले कार्ययोजना तयार पारे पनि पास नभइसकेको उनी बताउँछन्। काठमाडौंको प्रदूषणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खालको छ। यसलाई नियन्त्रण गर्न हामीले धेरै काम गर्न बाँकी छ। विभागले कार्ययोजना तयार गरेको छ(उनले भने, यो क्रस कटिङ विषय हो। १२ क्षेत्रमा यसको काम विभाजन गरेका छौ। प्रेडिस्टेरियनसम्म साइकल लेन बनाउने सम्मका योजनाहरू कार्ययोजनामा छन्। तर, कार्ययोजना पास भएर सबै निकाय मिलेर काम गर्नेवेलासम्म धेरै समय लाग्ने भएकाले त्यसवेलासम्म मास्क अनिवार्य रूपमा लगाउन अधिकारी पौडेल सुझाउँछन्। नेपालले सन् २०१६ को अगस्‍टबाट प्रदूषण मापन गर्न सुरु गरेको हो। सुरुमा सौराहा, लुम्बिनी, रत्नपार्क, धुलिखेल र पुल्चोकमा गरी ५ वटा स्टेसन जडान गरिएको हो भने २०१७ मा पोखरामा ३ वटा र ४ वटा गरेर ७ वटा स्टेसन गरी अहिले १२ स्टेसन सञ्चालनमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com