थप आधा दर्जन जहाज किन्न पैसा खोज्दै नेपाल एयरलाइन्स,एकैपटक ४३ पाइलट माग


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

नेपाल वायुसेवा निगम थप आधा दर्जन जहाज किन्ने योजनाका साथ प्राविधिक अध्ययन गरिरहेको छ । निगमले आन्तरिकतर्फ ४ र अन्तर्राष्ट्रियतर्फ २ गरी ६ वटा नयाँ जहाज किन्ने प्रक्रिया थालेको हो । जहाज खरिदका लागि लगानी जुटाउने विषयमा अध्ययन गरिरहेको निगमले निक्र्योल हुनासाथ सञ्चालक समितिमा लैजाने महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । निगमले आन्तरिक उडानतर्फ पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडाउने लक्ष्यसहित ट्विनअटर जहाज खरिद गर्न प्राविधिक अध्ययन गरिरहेको उनले बताए ।

ए–३२० किन्न गठित कमिटीले बुझायो प्रतिवेदन
निगमले एयरबस ३३० वाइडबडी जहाज खरिद प्रक्रिया टुंग्याएलगत्तै सानो क्षमताका थप २ जहाज ए–३२० किन्नेबारे अध्ययन गर्न एक कमिटी बनाएको थियो । महाप्रबन्धक कंसाकारका अनुसार कमिटीले निगम व्यवस्थापनलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरी चाँडै सञ्चालक समितिमा पेस गर्ने योजना रहेको उनले बताए । प्रतिवेदनमा ती २ जहाज किन्न ऋण कहाँबाट लिने, सस्तो ब्याज कहाँबाट प्राप्त हुन्छ भन्नेबारे सुझाब दिइएको छ । यी दुई जहाज आएपछि थप एक वाइडबडी ए–३३० जहाज खरिद प्रक्रिया सुरु गर्ने योजनामा निगम छ ।

आन्तरिक उडानमा क्यानेडियन जहाज भाइकिङ थपिँदै
निगम आन्तरिक उडानमा क्यानेडियन कम्पनी भाइकिङ एयरले उत्पादन गरेको ट्विनअटर जहाज खरिदको योजनामा छ । १९ सिट क्षमताको ‘भाइकिङ एयर डिएचसी–६ ट्विनअटर’ स्टोल (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) प्रविधियुक्त जहाज हो । छोटो लम्बाइ भएका विमानस्थलमा उडान–अवतरण गर्न सक्ने यो जहाजको विद्यमान मूल्य करिब ७० करोड रुपैयाँ छ । नेपालमा अहिले करिब ३ दर्जन विमानस्थल उडानयोग्य छन् । तर, निजी कम्पनीका जहाज मुस्किलले १ दर्जन विमानस्थलमा मात्र उड्ने गरेका छन् । सकेसम्म उडान सम्भव हुने सबै विमानस्थलमा उडाउन मिल्ने अत्याधुनिक प्रविधिजडित जहाज भित्र्याउने प्रक्रिया अगाडि बढिसकेको कंसाकार बताउँछन् । ‘यो जहाजमा कुहिरो र बादलभित्र रहेको अवस्थामा पनि पहाडको अवस्थिति स्क्रिनमा देखाउने प्रविधि जडान छ,’ उनले भने, ‘नेपालजस्ता मुलुकलाई यो उपयुक्त जहाज हो ।’

कति जहाज छन् निगमसँग ?
अहिले निगमसँग आन्तरिकतर्फ ३ ट्विनअटर र ६ वटा चिनियाँ जहाज छन् । त्यसमध्ये २ ट्विनअटर र ३ वटा चिनियाँ (२ वटा एमए६० र एउटा वाई१२) मात्र चलिरहेका छन् । हालै भित्रिएका २ वाई१२ जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अझै उडान अनुमति प्राप्त नभएको तथा भन्सारसमेत क्लियरेन्स नभएको महाप्रबन्धक कंसाकारले जानकारी दिए । एउटा वाई१२ जहाज भने इन्जिन मर्मतका लागि क्यानडा पठाइएको उनले बताए । अन्तर्राष्ट्रियतर्फ भने निगमसँग २ वटा न्यारोबडी एयरबस३२० र एउटा बोइङ७५७ जहाज उपलब्ध छन् ।

सवा २३ अर्ब आवश्यक

एयरबसले सन् २०१८ का लागि सार्वजनिक गरेको मूल्यअनुसार एउटा ए–३२० जहाजको मूल्य १० करोड १० लाख डलर (अर्थात् झन्डै १० अर्ब १० करोड रुपैयाँ) पर्छ । यसअनुसार २ एयरबस ३२० को बजार मूल्य २० अर्ब २० करोड नेपाली रुपैयाँ पर्छ । भाइकिङ ट्विनअटर जहाजको विद्यमान बजार मूल्य ७० करोड रुपैयाँ छ । सोअनुसार ४ वटा जहाज खरिद गर्न २ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्छ । यी ६ वटा जहाज खरिद गर्न निगमले विद्यमान बजार मूल्यअनुसार २३ अर्ब २० करोड रुपैयाँ जोहो गर्नुपर्नेछ ।

एकैपटक ४३ पाइलट माग
२ वाइडबडी जहाज ए३३० भित्रने मिति नजिकिँदै गर्दा नेपाल एयरलाइन्सले एकैपटक ४३ पाइलट माग गरेको छ । यसमध्ये वाइडबडी जहाज उडाउन ६ जना क्याप्टेन र ६ जना को–पाइलट मागिएको छ । यसबाहेक न्यारोबडी ए३२०, बोइङ–७५७, एमए६०, वाई१२ जहाज उडाउन पाइलट तथा को–पाइलट माग गरिएको निगमले जानकारी दिएको छ । निगमले हालै ११ जना को–पाइलट भित्र्याइसकेको छ । निगमका दुई वाइडबडी जहाज जेठ-असारसम्म नेपाल ल्याइसक्ने योजना छ । यी जहाजबाट तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान थालिने र त्यसपछि क्रमशः गन्तव्य थप गर्दै जाने योजना निगमको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com