लाखौँ खर्चेर निर्माण गरिएको प्रदेशको एकमात्र पशु वधशाला पर्‍यो, अलपत्र


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

फागुन १६, बुटवल । बुटवलमा जनघनत्व बढ्दै गएपछि बधशालाको परिकल्पना गरिएको थियो । बुटवल उपमहानगरपालिकाकै समन्वयमा शुरु भएको काममा मासु व्यवसायी र उपभोक्ता अधिकारकर्मीले सहकार्य गर्दै साथ दिएका थिए ।

२०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ वैशाखमा बधशालाभित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा सम्झौता भर्इ काम शुरु भएको थियो । तर, निर्माण पूरा भर्इ करिब ६० लाख बराबरका उपकरण खरिद भइसक्दा पनि लामो समयसम्म यो अलपत्र अवस्थामा छ ।

अहिले बुटवलमा जनप्रतिनिधि चुनिएसंगै फेरि बधशालालाई व्यवस्थित रुपमा सञ्चालनको पहल अगाडि बढेको छ । प्राविधिक विषय र त्यहाँको मापदण्डका बारेमा थप अध्ययन आवश्यक बजेटको जोहो गर्नेगरी उपमहानगरले प्राविधिकलाई खटाएको छ । तिनै प्राविधिकहरुले जनप्रतिनिधि र जानकारहरुको सहकार्यमा त्यहाँ राख्ने मेसिन र अरु आवश्यक तयारीबारे काम गरिरहेका छन् ।

बाह्य भौतिक संरचना निर्माण सकिएको झण्डै चार वर्ष पुग्दासम्म बधशाला सञ्चालनमा आउन सकेको छैन । क्षेत्रीय पशु निर्देशनालय पोखरा र बुटवल उपमहानगरपालिकाको उपकरणबाहेक झण्डै ५ करोड लगानीमा ०७१ जेठमा बधशालाको अहिलेको संरचना निर्माण पूरा भएको थियो । बुटवल धागो काराखाना परिसरदेखि केही पर ९सुखौरा खोला किनारमा० २२ रोपनी क्षेत्रफल भित्र बधशालाको भवन बनेको छ ।

यता मासु व्यवसायीहरुले भने धेरै समय कुर्नु परेको भन्दै तत्काल सञ्चालनको पहल थाल्न आग्रह गरेका छन् । उनीहरुले यस्का लागि मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलको नेतृत्वमा दबाब समिति नै बनाएका छन् । उक्त समितिले बुटवल उपमहानगरसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने छ । यदी त्यति गर्दा पनि तत्परता नदेखाए आफै उपकरण खरिद गरेर क्षमता अनुसार पशु÷पंक्षी बध गर्नेसम्मको तयारी गरिएको अध्यक्ष पौडेलले बताए ।

अस्वस्थ्यकर बध

बुटवलमा दैनिक बध हुने ३५ सय पशुपन्छी अस्वस्थ्यकर रूपमा बध गरिएका छन् । बध गरिसकेपछि कतिपय मासु डीफ्रिज गर्नुपर्ने भए पनि अधिकांश व्यवसायीले त्यसो गरेको पाइँदैन् । मासु व्यवसायीका अनुसार बुटवलमा मात्रै दैनिक तीन सय खसी, ३ हजार कुखुरा, ५५ वटा राँगाभैसी, ८ सय किलोजति बंगुर तथा ८ सय किलो नै माछा बध गरिन्छ । अधिकांश खसीबोका भारतबाट आयात हुँदै आएका छन् । यसरी आयात गरिएका खसी बोकाको स्वास्थ्य परीक्षणका लागि पनि बधशाला जरुरी छ ।

बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका मासु व्यवसायीहरुले दबाब समिति बनाएको बताउँदै अध्यक्ष पौडेल सरकारी–निजी क्षेत्रका बीचमा सहकार्यका लागि पनि यस्तो गरिएको हो भन्छन् । संघको पाल्पाको श्रीनगरमा बसेको नयाँ नेतृत्वको पहिलो बैठकले अध्यक्ष पौडेलको संयोजकत्वमा बधशाला सञ्चालन दबाब समिति गठनलगायतका महत्वपूर्ण निर्णय गरेको थियो ।

बुटवलमा पशुबधशालाको भवन निर्माण भएको छ । तर, त्यहाँ राख्ने इक्वीपमेन्ट र स्वास्थ्यजन्य केही सामानहरु जडान गर्न बाँकी छ । यो सञ्चालनका लागि बुटवल उप–महनानगरपालिकाले पनि तत्परता देखाएको छ । आवश्यक सामग्री, उपकरण र चिकित्सकीय विभागका कामहरु संवेदनशील एवम् जटिल हुने भएको भन्दै उपमहानगरले पशु बधशालाको अर्को व्यवस्थित डीपीआर बनिरहेकाले सञ्चालनमा ढिलाई भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यता व्यवसायीहरुले भने अहिले जुन संरचना निर्माण भएको छ त्यसमै बधशाला सञ्चालन गर्ने र त्यसको क्षमता अनुसारका पशु तथा पन्छीको परिक्षण गरेर बध गर्ने गरी व्यवस्था मिलाउन सुझाव दिँदै दबाब सिर्जना गरेका छन् । जनप्रतिनिधि चुनिएपछि नीतिगत काम र तयारीहरु अगाडि बढेको र सकारात्मक थालनी भएको बताउँदै अध्यक्ष पौडेलले भने–‘अझै पनि दबाब सिर्जना गरिएन भने फेरि उस्तै हुने देखेर समिति नै बनाएका हौं ।’ दबाब समितिले प्राविधिकहरु तथा नागरिक अगुवाहरुलाई बधशालाको अहिलेको अवस्थाको अध्यय्न गराउने छ । विदेशका जस्ता सम्पूर्ण सुविधासम्पन्न बधशालाको कल्पना मात्रै गरिएपनि त्यो तत्काललाई सम्भव नभएकाले अहिले जुन अवस्थामा छ त्यसैलाई सुधारेर यथाशीघ्र सञ्चालन गर्नुपर्ने आफुहरुको माग रहेको संघका अध्यक्ष पौडेलले बताए । पानी, विजुली र सुरक्षाको ग्यारेन्टी गरे अरु सबै उपकरणहरु व्यवसायी आफैले जुटाउनेसमेत घोषणा गरेका छन् ।

केही प्रविधि जडान गर्न र आधुनिक स्तरको बनाउन समय लाग्ने भएको उपमहानगरको भनाइ छ । उपमहानगरपालिकाका प्राविधिक गौतम रौनियारले नयाँ मापदण्डसहितको बनाउनका लागि अर्को नयाँ चरणको प्रक्रिया सुरु भएको बताए । उनले त्यसका लागि एक दुई दिनमै सूचना प्रकाशित हुने पनि बताए । नयाँ मापदण्डका उपकरण थप्न कम्तीमा डेढ करोड रुपैयाँ लाग्ने र अरु आवश्यक सबै उपकरणहरु जडान गर्न २० करोड भन्दा धेरै रकम चाहिने उनको भनाइ छ । त्यहाँको प्राविधिक पाटो हेर्दै आएका ई।रौनियारले चालु आवमै केही उपकरण जोडेर सुरु गर्न सकिने बताउछन् । बधशाला भनेको मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको स्थान भएकाले त्यत्तिकै मन्दिरमा भोग हालेसरी बध गराउन नसकिने भन्दै प्रवक्ता रेग्मीले मापदण्डको बनाउन समय लाग्नु स्वभाविक रहेको बताउछन् ।

उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीका अध्यक्ष नोर्बु लामाले नामका लागि मात्र नभई बधशालाको निर्माण अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप हुनुपर्ने बताए । आम उपभोक्ताको स्वास्थ्य र उपभोगितामा असर नपुग्ने गरी गुणस्तरीय बध उपकरणको जडान बिना बधशाला सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

बाख्रीको मासु पूरै रोक्ने तयारी

खसीको मासुको नामममा बाख्रीको मासु बिक्री बितरण गरेका गुनासा आइरहेका बेला मासु व्यवसायी संघले अब बाख्रीको मासु नै पूर्ण बन्देज लगाउने तयारी गरेको छ । मासु व्यवसाय ऐनमा ‘यो बाख्रीको मासु हो’ भन्ने प्रष्टसंग लेखेर स्वस्थ बाख्रीको मासु बेच्न पाउने व्यवस्था छ । त्यसैका आधारमा जथाभाबी बाख्री काटेर खसी भन्दै बेच्ने गरेको पाइएको व्यवसायीका अगुवाहरु नै स्वीकार्छन् । बिक्री गर्नैपर्ने भएमा अलग्गै स्थानमा राख्ने व्यवस्था गर्न सकिने अध्यक्ष पौडेल बताछन् । यस्का लागि आम उपभोक्ताले प्रष्ट देख्ने गरी साईन बोर्ड अनिवार्य राख्नुपर्ने छ । त्यस्तै स्वास्थ्य चेक जाँच गरिएकोलाई मात्र बिक्री बितरण गर्ने व्यवस्था मिलाउन सकिने गरी संघको पाल्पा बैठकले निर्णय गरेको संघका उपाध्यक्ष बिरेन्द्र रानाले बताए ।

पशु हाटबजारको तयारी

रुपन्देहीमा संगठित रुपमा रहेका करिब ६ सय मासु व्यवसायीहरुका लागि लक्षित गरेर पशु हाटबजार सञ्चालनको परिकल्पनासमेत गरिएको अध्यक्ष पौडेलले बताए । स्वदेशी खसी बोकाहरुको उत्पादन पछिल्ला वर्षमा विस्तारै बढ्दै गएकाले पशु हाटबजारको खाँचो पनि टड्कारो रहेको व्यवसायीहरुले बताएका छन् । बुटवल उप–महानगरपालिका तथा छिमेकका नगरपालिका र गाउँपालिकाहरुमा यसबारेमा कानुनी प्रक्रिया अनुरुपका निवेदन दिने तयारी भएको अध्यक्ष पौडेलले बताए । उपभोक्ता हित संरक्षण ऐन २०५४, पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र यसको कार्यान्वयन स्थानीय निकायले गर्ने भनी स्थानीय स्वयत्त शासन ऐन २०५५ को तर्जुमा गरिएको थियो । अहिले नयाँ संविधान र स्थानीय तहका कानुनमा पनि यस्लाई समावेश गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com