सिरियाका निर्दोष नागरिक बचाउन माग गर्दै नेपालस्थित संयुक्त राष्ट्र संघमा पत्र


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सिरिया भइरहेको बमबारी र नरसंहार अविलम्ब रोक्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा पारित युद्वविरामको प्रस्तावलाई तत्काल लागू गरी त्यहाँको जनताको जीवनरक्षाका लागि स्थायी शान्ति कायम गर्न सिरियाली सरकार र विद्रोहीलाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।

सोही क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशलाई सम्बोधन गरिएको ज्ञापन पत्र नेपालस्थित कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सिरियालगायत एशिया र अफ्रिकाका आधा दर्जन देशमा मानवताविरुद्धको अपराध बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र संघको प्रभावहीनताका कारण सिरियाको निर्दोष नागरिक मारिएको बताउँदै उक्त घटनाले मानवता छियाछिया भएकामा दुःख व्यक्त गर्नुभयो ।

प्रदर्शनमा राष्ट्रसंघीय युद्धविराम प्रस्ताव लागू गर, बमबारी र नरसंहार बन्द गर, महिला, बालबालिकामाथिको अत्याचार बन्द गर, निर्दोष नागरिकको हत्या बन्द गरलगायतका सन्देश प्रवाह गरिएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com