शौचालयविहिन आलिसान घर


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

फागुन १५, नेपालगञ्ज– घर आलिसान छ। नेपालगञ्ज–१५, उदयपुरका कधै धोवीको घरमा बाहिरबाट झट्ट हेर्दा नपुग्दो केही देखिदैँन। भित्र छिर्दा थाहा भयो, आलिसान घरमा त शौचालय नै रहेनछ।

धोवीका परिवार खेतमा शौच गर्न जान्छन्। धोवीलाई खेतमा दिसा गर्न जाने बेलामा प्रहरीले नियन्त्रणमा लियो। दिनभरी वडा प्रहरी कार्यालयमा राखेर ‘शौचालय बनाउँछु’ भन्ने कागज गराएर छोड्यो।

धोवीको परिवार शौचालय बनाउन नसक्ने हैसियतका होइनन्। मात्रै चेतनाको अभाव हो। प्रहरीले ल्याएर थुनेपछि उसको चेत खुलेको छ। अहिले उनले शौचालय बनाउन शुरु गरेका छन्।

हैसियत नभएर भन्दा पनि सरसफाइ र चेतनाको अभावले शौचालय नबनाउनेको संख्या ठूलो भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले यतिबेला प्रहरीको सहयोग लिएर त्यस्तो व्यक्तिलाई ल्याउँदै दिनभरि थुनेर कागज गरी पठाउने अभियान थालेको छ। उनीहरुलाई घरबाट नभई खेतमा दिसा गर्न गएको बेलामा प्रहरीले नियन्त्रणमा लिने गरेको हो।

मंगलबार बिहान पनि प्रहरीले उदयपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। शौचालय भएर पनि खेतमा दिसा गर्न गएकासहित तीन जनालाई प्रहरीले वडा प्रहरी कार्यालयमा राखेको छ। ‘शौचालय बनाउँछु भन्ने लिखित कागज गरेर’ छोड्ने वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमले बताए।

आग्रह र अनुरोध गर्दा बेवास्ता भएपछि नगरपालिकाले शौचालय नहुने व्यक्तिको कार्यालयबाट काम रोक्यो। अरु सरकारी कार्यालयहरुमा पनि सेवा रोक्ने प्रयास गर्‍यो। त्यतिगर्दा पनि शौचालय बनाउन आलटाल नै भयो। जिल्लाका अरु गाविसहरुले ९हाल गाउँपालिका० खुल्ला दिसामुक्त घोषणा गरिसक्दा नगरपालिका धेरै पछाडि पर्‍यो। नगरपालिकाले गर्दा नै बाँके जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन।

नगरपालिकाले वडाहरुलाई खुल्ला दिसामुक्त गराउन पटक–पटक ‘घोषणा मिति’ सार्वजनिक गर्दै आएको छ। उसको अन्तिम पटकको घोषणा मिति फागुन १५ थियो। त्यो पनि कटेको छ। नगरपालिकाका खुल्ला दिसामुक्त अभियानका फोकलपर्सन ओबीराज आचार्यले फागुन मसान्तभित्र नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्ने बताए।

वडाहरुमा पनि यतिबेला शौचालय नहुनेलाई प्रहरीले लगेर थुन्छ भन्ने हल्ला चलेको छ। नहुनेले बनाइरहेका छन्। नहुनेलाई बनाउन लगाउने र बनाएकालाई शौचालयभित्र दिसा गर्न लगाउने दोहोरो जिम्मेवारी प्रहरीको काँधमा आएको छ। घरमा शौचालय हुँदा पनि खेतमा दिसा गर्न जाने र उसलाई प्रहरीले ल्याएर थुनेर अब शौचालयमा दिसा गर्छु भन्ने कागज गर्नुपर्ने लाजमर्दो अवस्था छ ।

नगरपालिकाका २३ मध्ये ७ वटा वडा खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन्। नगरपालिकाले प्रहरी लगाएर शौचालय बनाउन लगाइरहेको छ। खुल्ला दिसामुक्त घोषणा भइसकेपछि ‘पोष्ट ओडिएफ’ अर्थात शौचालयमा दिसा गर्नेदेखि सरसफाइका अभियान सञ्चालन हुने नगरपालिकाका सूचना अधिकृत शरद पौडेलले बताए।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com