नेपाली सेना र प्रहरी नक्कली नोटसहित पक्राउ


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

 

फागुन १५, काठमाडौँ । प्रहरीले नेपाली सेनाका प्युठ र प्रहरी जवानलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले लामो समय प्रहरीमा सवारी चालक रहेका पूर्व प्रहरी जवान नेमा तामाङ र केही दिन अघि इटहरीबाट राजीनामा दिएका सेनाका प्युठ भेषकुमार थापालाई नक्कली नोटसहित पक्रेको हो।

प्रहरीले नेमा तामाङले बीरगञ्जबाट काठमाडौं भित्राएको पाँचसय दरका नक्कली नेपाली नोटसहित अन्य चारजनालाई समेत पक्रेर थप अनुसन्धान गरिरहेको छ। वृत्तका प्रमुख डिएसपी प्रदिपकुमार क्षेत्रीका अनुसार झट्ट हेर्दा छुट्टाउन नसकिने पाँच सय दरका नक्कली नोट डाई राखेर आधुनिक प्रेसमा छापिएका हुन्। उनले नोटको आकार, त्यसको गुणस्तर र कागज सक्कली सरह भएको बताए।

‘व्यावसायिक रुपमा नेपालमा प्रयोगमा ल्याउने गरी ठूलै गिरोहले नक्कली नोट छापेको अनुमान गरेका छौं’ डिएसपी क्षेत्रीले भने, ‘बीरगञ्जबाट भित्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

कालिमाटी बृत्तले १२ फागुनमा बल्खुमा रहेको कार्की फार्मेसीमा औषधी किन्न आएका धनुषाका धिरजबहादुर श्रीनेत ठकुरी र निगम राईलाई नक्कली नोटसहित पक्राउ गरेपछि थप अनुसन्धानमा नेमा र भेषकुमारसहित अन्यको संलग्नता खुलेको हो।

अनुसन्धान अधिकारीका अनुसार धिरज र निगमले बरामद नोट ललितपुर ताल्सीखेलमा रहेको एमएस वर्कसपका संचालक मनोज केसीबाट लिएको बयान दिए। प्रहरीले मनोजलाई नियन्त्रणमा लिएपछि उनले भेषकुमारबाट प्राप्त भएको बताएका थिए।

प्रहरीले भेषकुमारलाई २१ थान नक्कली नोट सहित नियन्त्रणमा लिएपछि उनले नेमा तामाङबाट नोट पाएको र आफुले पाएको नोटमध्य केही आशिष माझीलाई दिएको बताएका थिए।

प्रहरीले नेमालाई नियन्त्रणमा लिएपछि उनकै योजनामा नमूनाका लागि केही थान नक्कली नोट काठमाडौं उपत्यकामा प्रयोगमा ल्याएको खुलेको हो।

नेमाले प्रहरीमा दिएको प्रारम्भिक बयानमा बरामद भएका नक्कली नोट वीरगञ्जका रिक्सा चालक मार्फत् आफूले प्राप्त गरेको बताएका छन्। उनले काठमाडौंमा प्रयोगका लागि केही थान ५ सय र १ हजारका नक्कली नोट ल्याएको बयान दिएका हुन्।

काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा नक्कली नोटका बिषयमा थप अनुसन्धान गरिरहेको छ। कालीमाटी बृत्तले पक्राउ आरोपीहरु बिरुद्ध खोटाचलन मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com