सुन सफा गर्ने भन्दै ठगी गर्ने ४ भारतीय पक्राउ
प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार
फागुन १४, पाँचथर । सुन सफा गरिदिने भन्दै ठगी गरेको अभियोगमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पाँचथरको फिदिम नगरपालिका– १३, लुङरूपाकी बसुन्धरा राईको सुन सफा गरिदिने भन्दै मारवाडी गालेर नक्कली सुन लगाएर ठगी गरी फरार भएका चार जना भारतीय नागरिकहरूलाई इलाममा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारतको विहार राज्यको पूर्व चम्पारणका ३६ वर्षका कृष्ण साह, रञ्जित साह, पवन साह र दिलीप साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले ठगिएकी बसुन्धरा राईका श्रीमानले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए। उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध ठगिएको भन्दै लुङरूपा क्षेत्रबाट उजुरी पर्ने क्रम जारी छ। उनीहरूविरुद्ध जिल्ला अदालत पाँचथरमा पनि ठगी मुद्दा दर्ता भएको छ।