जात बन्यो तगारो, सुत्केरी श्रीमती छोडेर श्रीमान बेपत्ता


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

–महिला खबर–

बैतडी । जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् । श्रीमतीले छोरी जन्माएको डेढ महिनामा सुत्केरी श्रीमतीसहित छोरी छोडेर भागेका उनी कहाँ छन्, के गर्दैछन् र किन भागे ? भन्ने कुराको अत्तापत्तो समेत छैन ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ बगछेनाका सुरेस नाथ श्रीमती र छोरी छोडेर भागेपछि प्रयाप्त आराम गरेर बस्नुपर्ने सुत्केरी अवस्थामा राधा नेपाली सुरक्षा आवास गृहको सहारा लिन बाध्य भएकी छन् ।

दलित युवतीसँग विवाह गरेका कारण परिवारले घरको आगनमा समेत टेक्न नदिएपछि भारतको पिथौरागढमा बस्दै आएका सुरेश र राधा छोरी जन्मेको डेढ महिनामा घर फर्केर आउने क्रममा सीमा नाकामा पर्ने झुलाघाटको एक होटेलमा बास बसेका बेला सुरेश सम्पर्कविहीन भएका हुन् ।

‘बिहानै ४ बजे उठेर बाहिर जानु भो । अब त आउनुहुन्छ होला भोर कुर्दाकुर्दै ७ बजिसक्यो उहाँ आउनुभएन’ राधाले महिला खबरसँग भनिन्, ‘बिरानो ठाउँ, निकै आत्तिए । के गर्ने के गर्ने भयो अनि पुलिसकोमा गएँ । प्रहरीले सुरक्षा गृहमा पठाइदियो ।’

अछामको मंगलेसैन नगरपालिका माइती भएकी राधाले दुई वर्ष अगाडि सुरेशसँग प्रेम विवाह भएको बताइन् ।

आफू दलितकी छोरी भएका कारण सुरेशको घरमा स्वीकार नगर्दा दुख हुन्छ भन्दै विवाह गर्न नमानेको बेला सुरेशले नानाथरी कुरा गरेर सँगै मर्ने र सँगै बाँच्ने कसम खाएपछि उनीसँग भागेर विवाह गरेको पनि राधाले बताइन् ।

विवाहपछि सुरेशको परिवारलाई आफूलाई त परै जाओस् छोरालाई घर पस्न नदिएपछि १० महिनासम्म गाउँलेहरूको सहयोगमा अलगै बसको राधाले बताइन् । ‘त्यसरी बस्दा समेत परिवारले सुख दिएन । हामी भोकै बसेको थाहा पाउदा गाउँलेले खानेकुरा दिन्थे । त्यो कुरा थाहा पाएपछि समेत सासु ससुराले गाउँलेको बेइजती गर्थे’ राधाले सुनाइन् ।

सुरेशसँगको विवाहपछि सुरेशको परिवारको यातना सहन नसक्दा सीमा नाकामा पर्ने झुलाघाट र भारतको पिथौरागढमा मजदुरी गरेर बस्दै आएको राधाको भनाइ छ ।

सुरेशले छोरी जन्मेपछि अंश मागेर अलग्गै बसौला । घर जाऔं भनेपछि पिथौरागढबाट घर आउने क्रममा झुलाघाटबाट उनी बेखर भएपछि अब आफू र छोरीको भविष्य के हुने भन्ने बारेमा चिन्तित बनेको राधाले बताइन् ।

यसरी जोडिएको थियो राधा र सुरेशको सम्बन्ध

बैतडीका सुरेस नाथ सुदूरपश्चिम यातायातमा खलासीको काम गर्थे । धनगढी, टीकापुरबाट अछाम जाने गाडीमा खलासीको काम गर्ने सुरेशको अछामको मंगलसेन बसपार्क नजिकै राधासँग भेट भयो । एकदिन राधालाई अछामबाट कैलालीको लम्की जानुपर्ने भयो । उनी त्यही बसबाट लम्की पुगिन् । फर्कदा पनि त्यही बसबाटै अछाम पुगिन् । त्यो यात्राले उनीहरूको प्रेम झन् झाँगियो ।

राधा र सुरेशले फोन नम्बर आदान–प्रदान गरे । उनीहरूको दिनहुँजसो फोनमा कुरा हुन थाल्यो । सुरेश पनि साताको एक, दुइ पटक अछाम पुगिरहन्थे । हप्तौजसो भेटघाट हुन थाल्यो । अन्तमा सुरेशले विवाह गरौं भन्न थाले । परिवारले स्वीकार नगर्ने अलग्गै बस्ने वाचासहित सुरेशले राधासँग विवाह गरे ।

मायाले जात, धर्म, धनी गरीव केही मान्दैन भन्ने सुनेकी राधालाई सुरेशका कुरा पनि मिठा लागे । यो मान्छेले मलाई साच्चिकै प्रेम गर्छ भन्ने महसुस गरेपछि जातको ख्याल नगरेर सुरेशसाग विवाह गरिन् ।

जात भयो बाधक 

सुत्केरी अवस्थामै होटेलमा बसेको बेला सुरेश बेखर बनेपछि राधाले जात नै आफ्नो प्रेमको तगारो बनेको महसुस गरेकी छन् । मायामा घरपरिवार, समाज सबै त्याग्ने बाचा खाएका सुरेशले आफूलाई बिचबाटोमै अलपत्र पारेर छोडेपछि सुरेशका सबै वाचा झुठा थिए भन्ने उनलाई लाग्न थालेको छ । विवाहको एक हप्तामै राधाको नागरिकता र बिहे दर्ता बनाएका सुरेशले नागरिकता र बिहे दर्ताको प्रमाण पत्र समेत आफैसँग लिएर गएको कुराले राधालाई झन् मर्माहत बनाएको छ । ‘नागरिकता र विवाह दर्ताको प्रमाण पत्रसहित लिएर गएको कुराले उहाँ नियतवस् भागेको हो भन्ने लागेको छ’ उनले भनिन् ।

अछामबाट सुरेशकै मायामा घरपरिवारबाट भागेर बैतडी पुगेकी राधा अब के गर्ने ? कहाँ जाने ? चिन्तामा परेकी छन् । माइघरमा पनि आमाबुवा भारतमै बस्ने गरेकाले माइतीको घरमा पनि जान नसक्ने उनले बताइन् । ‘एक्लै भएको भए केही गरेर खान सजिलो हुन्थ्यो । छोरीलाई बोकेर कहाँ जानु । के गर्नु । केहि सोच्नै सकेकी छैन’ राधा स्तब्ध बनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com