छोरी जन्माएपछि श्रीमान गायब !


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

इन्द्रसरा खड्का/अछामको मंगलेसैन नगरपालिकाकी राधा नेपाली अहिले बैतडीको पाटनमा रहेको सेफ हाउसमा हुनुहुन्छ ।

श्रीमान भागेर विदेश गएपछि उहाँ शरण खोज्दै सेफ हाउस पुग्नुभएको हो । घरपरिवारले उहाँलाई घरमा बस्न नदिएपछि उहाँ २ महिनाकी छोरी काखमा च्याप्दै प्रहरी कार्यालय पुग्नुभएको थियो । बच्चासँगै प्रहरी कार्यालयमा आएकी राधालाई प्रहरीले सेफ हाउसमा पुर्याइदियो ।

२ वर्ष पहिले बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–६, बगछेनाका सुरेश नाथसँग विवाह गरेकी नेपालीलाई सुरेशका परिवारले तल्ले जातको विवाह गरेको भन्दै घर पस्न दिएन् । घरपरिवारले बस्न नदिएपछि राधा १० महिनासम्म गाउँलेहरुको सहयोगमा अलगै घरमा बस्नुभयो ।

दलितकी छोरीलाइ घरभित्र पस्न नदिने भनेपछि सुरेश र राधा सुेरशकै अर्को घरमा बस्नुभएको थियो । अर्को घरमा बस्दा पनि घरमा कोही नभएको बेला ससुराले आफूलाई पीट्ने गरेको राधा बताउनुहुन्छ । आफूले ससुराले पीटेको कुरा श्रीमानलाई पनि नभनेको राधाको भनाई छ । ‘घरमा मलाई खान समेत केही दिइएन’, राधाले भन्नुभयो, ‘घरमा पानीको धारा समेत छुन दिएका थिएनन् ।’

भोकभोकै बसेको देख्दा गाउँलेले लुकाएर खानेकुरा दिए पनि सासुससुराले गाउँलेहरुलाई समेत गाली गरेपछि छिमेकिले पनि आफूलाई सहयोग नगरेको राधा बताउनुहुन्छ ।

घरमा सबैले नराम्रो गरेपछि राधाका श्रीमानले उहाँलाई झुलाघाटमा लैजानुभएको थियो । ७ महिनाको झुलालघाटको बसाइँपछि राधा र उहाँका श्रीमान घर फर्केर आउनुभयो । तर घरमा पहिलेको जस्तै सासुससुराले बस्न नदिएपछि उहाँहरु भारतको पीथौरागढ जानुभयो ।

त्यहाँको १ महिनाको बसाइँमा राधाले छोरीे जन्माउनुभयो । छोरी जन्मिएपछि श्रीमानले उहाँलाई घरमै आफ्नो अंश लिएर बस्ने भन्दै पीथौरागढबाट घर लिएर आउनुभयो । तर, राधालाई झुलाघाटको एक होटेलमा छोडेरउहाँका श्रीमान गायब हुनुभयो । होटेलबाट हिँडेका सुरेश कहाँ गए भन्ने अहिलेसम्म पत्ता लागेको छैन् ।

भारतबाट सँगै फर्केका सुरेश र राधा झुलाघाटको एक होटलामा बसेका थिए । तर त्यसको भोलिपल्ट बिहानै ४ बजे उठेर हिँडेका सुरेश अहिलेसम्म फर्केका छैनन् । अहिलेसम्म आफ्ना श्रीमान नफर्केपछि राधा प्रहरी कहाँ पुग्नुभयो । प्रहरी कहाँ पुगेर आफ्नो समस्या राखेपछि प्रहरीले उहाँलाइ पाटनमा रहेको महिला सेवा केन्द्रमा पु¥याइएको हो ।

सुरेश र राधाको सम्बन्ध गाडीबाट सुरु
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–६ का सुरेश नाथ सुदूरपश्चिम यातायातमा खलासिको काम गर्नुहुन्थ्यो । धनगढी, टिकापुरबाट अछाम जाने गाडीमा उहाँ खलासि हुनुहुन्थ्यो । सुरेशको पछि मंगलसेन बसपार्क नजिकैको राधा नेपालीसँग भेटघाट हुन थाल्यो ।

एकदिन अछामबाट लम्कीसम्म राधाको पनि जानुपर्ने काम भएकाले त्यही बसमा राधा लम्की जानुभयो । त्यसपछि राधा र सुरेश झनै नजिक हुनुभयो । फेरि र्फकदा पनि राधा त्यसै गाडीमा नाथसँग फर्किनुभयो । साताको १–२ पटक अछाम पुगिरहने सुरेश र राधाको भेट हप्ता दिनमा हुन थालेपछि उहाँहरु झनै नजिक हुन हुनुभयो । अन्तमा उहाँहरुले बिहे गर्ने कुरा गर्नुभयो । राधा दलित र सुरेश क्षेत्री भए पनि उहाँहरुको विवाह भयो ।

तर उहाँहरुको विवाहलाई घर परिवारले स्वीकारेनन् । सुरुमा घरपरिवारसँग झगडा गरेका सुरेशले आमाबुवाबाट राधाकै कारण अलग हुनुभयो । तर, अन्तमा सुरेश नै हराएपछि राधाको बिचल्ली भएको छ ।

राधा र सुरेशले सहमतिअनुसार बिहे गरे पनि घर परिवार र समाजले उहाँहरुको सम्बन्धमा तुषारापात गरिदियो । जातिय रुपमा कट्टर नेपालको सामाजिक कुरिती सरकारले अन्त्य भएको घोषणा गरे पनि व्यवहारिक रुपमा जातिय विभेदको अझै अन्त्य भएको छैन् । आखिर राधाको जीवन पनि समाजमा रहेको जातिय विभेदबाट अछुतो रहन सकेन् ।

समाजले राधा र सुरेशको सम्बन्धलाई नस्वीकारे पनि कानूनी रुपमा भने राधा सुरेशकी श्रीमती बनिसक्नुभएको छ । राधालाई बिहे गरेको एक हप्तामै सुरेशले नागरीकता र विवाह दर्ता गरिदिएकाथिए । तर, अहिले राधासँग नागरिकता र विवाह दर्ता भने छैन । उहाँको नागरिकता र विवाह दर्ता पनि सुरेशले नै लिएर गएको राधा बताउनुहुन्छ ।

अछामबाट सुरेशकै मायामा घरपरिवारबाट भागेर बैतडी पुगेकी राधा अब के गर्ने र कहाँ जाने भन्ने चिन्तामा हुनुहुन्छ । राधाका माइति पनि भारतमा नै गएर बसेकाले उहाँ माइत जान नसक्ने बताउनुहुन्छ । ‘एक्लै भए पनि कतै जान सजिलो हुने थियो सँगै छोरीलाइ बोकेर कहाँ जानु ? के गर्नु ? म त के गरुँ ? के गरुँ ? केही सोच्नै सकेको छैन ।’ राधाले भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com