रेशमलाल चौधरीले आत्मसमर्पण गरे, चौधरीको जिल्ला अदालतमा बयान लिइँदै
प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार
तेजराज भट्ट धनगढी| थरुहट आन्दोलनका क्रममा टीकापुरमा प्रहरीसहित ९ जनाको हत्या भएको घटनाका मुख्यअभियुक्त ठानिएका रेशमलाल चौधरीले आज जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् ।
घटनापछि फरार रहेका चौधरी बिहान ११ बजेर १४ मिनेटमा अदालत पुगेका हुन् ।
जिल्ला अदालत कैलालीका श्रेस्तेदार इन्द्रबहादुर कठायतले अहिले चौधरीसँग बयान लिने काम भइरहेको जानकारी दिए ।
जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सरकारी वकिलहरूले चौधरीसँग बयान लिइरहेका छन् । बयान सकिएलगत्तै मुद्दामा बहस सुरु हुने श्रेस्तेदार कठायतले बताए ।
चौधरीको पक्षमा अधिवक्ता गंगाराम पाध्याय, गजेन्द्र केसी र मिलन राईले बहस गर्दैछन् । बहसपछि अदालतले सामान्य तारिख, धरौटीमा रिहा गर्ने वा थुनामा राख्न आदेश दिनसक्ने छ ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट फरार अवस्थामै उम्मेदवारी दिएका चौधरी भारी मतले विजयी भएका थिए ।
भिडियोबाटै चुनाव प्रचार गरेका चौधरी करिब २१ हजार मतान्तरले विजयी भएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचत हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत प्राप्त गरेकी थिइन् ।
चुनाव जितेपछि रेशमलाल चौधरीले जनताले सिंहदरबारको ढोका आफ्ना लागि खेलीदिएको प्रतिक्रिया दिँदै आएका थिए । तर, निर्वाचन आयोगले उनको प्रमाणपत्र वारेशनामार्फत् दिन मानेको थिएन ।
चौधरी कैलालीको टिकापुरका स्थानीय हुन् । टिकापुर घटनाका मुख्यआरोपी उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेका वेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो घटनाका मुख्ययोजनाकारका रूपमा प्रहरीले रेशमलाई लिएको छ ।
टीकापुरमा ९ जना मारिएपछि आक्रोशित समूहले घटनाको दोस्रंोदिन चौधरीले संचालन गर्दै आएको रिसोर्ट र एफएम रेडियोको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । उक्त क्षतिवाफत उनले राज्यबाट डेढ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाएका थिए ।
टीकापुर घटनाको अभियोगमा प्रहरीले ५६ जनाविरुद्ध मुद्दा चलाएको छ । २३ जना अभियुक्त कारागारमा छन् भने दुई नाबालक भएको भन्दै आफन्तको जिम्मा लगाइएको छ । अन्य फरारको सूचीमा छन् ।






