आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, ४ बजे शपथको तयारी


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

 

फागुन १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ११ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । आजै ४ बजे शपथ ग्रहणको तयारी गरिएको छ ।

एमाले र माओवादीले ११ र ७ मन्त्रालय बाँडफाँट गरे पनि दुवै दलले सरकारमा पठाउने नाम टुंगो लगाउन सकेका थिएनन् ।

सोमबार बिहान प्रधानन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । माओवादी केन्द्रले मन्त्रीको नाम ओलीलाई बुझाइसकेको छ । एमालेले पनि नामको टुंगो लगाइसकेको छ ।

रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुनेछ । माओवादी केन्द्रको तर्फबाट मन्त्रीका लागि शक्ति बस्नेत, रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव, विना मगर, गिरिराजमणी पोखरेल र जनार्दन शर्माको नाम प्रधानमन्त्री ओलीलाई माओवादी अध्यक्ष प्रचण्डले बुझाएका छन् । माओवादी स्रोतका अनुसार रामबहादुर थापालाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनी यसभन्दा अघि प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए ।

मओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालय चित्त नबुझाउँदा अन्य नेताहरुले कुन मन्त्रालयको जिम्मा लिने टुङ्गो लागेको छैन । सोमबार बिहान खुमलटारमा बसेको शीर्ष तीन नेताहरुको छलफलले मन्त्रालयको बारेमा पुर्नविचार गर्नुपर्ने देखिएको माओवादी केन्द्रका एक नेताले बताए । खुमलटारको बैठकपछि मन्त्रीको नामावली बुझाउन र मन्त्रालयबारे पुर्नविचार गराउन माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाट पुगेका थिए ।

त्यस्तै एमालेबाट ईश्वर पोखरेल अर्थमन्त्री बन्ने भएका छन् । पोखरेलसहित एमालेबाट प्रदीप ज्ञवाली, योगेश भट्टराई, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, राजपा परित्याग गरी एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लडेका हृदयेश त्रिपाठीलगायतको नाम चर्चामा छ । यद्यपि स्थायी कमिटीले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको छ । एमालेबाट पोलिटव्युरो सदस्य लालबाबु पण्डित र थममाया थापामगर यसअघि नै मन्त्री बनिसकेका छन् ।

राष्ट्रपति कार्यालयले आज अपराह्न ४ बजेका लागि सपथ ग्रहणको तयारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयमा प्रेस सल्लाहकार माधव शर्माले ४ बजे शपथ ग्रहणको तयारी गरेको बताए । “आज शपथ ग्रहण हुने अनौपचारिक जानकारी आएको छ,” उनले भने ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com