देउवालाई पौडेलको धम्की, कांगे्रसलाई हराएर आनन्द लिने ? (पत्र जस्ताकोतस्तै)


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

काठमाडौं १३ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले कांग्रेसलाई हराएर आनन्द मानिरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा लिखित मन्तव्य राख्दै पौडेले देउवा रहुन्जेल कांग्रेस सकिने चिन्ता देखाएका छन् । उनले भनेका छन् “नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनवाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईसँग एकदिन भेटेरै भने – देउवा जी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने ईच्छा पूरा भएको छ, दलको नेता पनि चुनिनुभयो – प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ । अब तपाईले चाहेको सबै पूरा भयो । तसर्थ अब तपाईँ सानो समुहको संरक्षक बन्नपट्टि नलागेर सिङ्गो कांग्रेसको नेता बन्न लाग्नुहोस । योग्यता र योगदानको आधारमा सवै साथिहरुलाई समानरुपले मुल्याङ्कन गर्न थाल्नुहोस, म तपाईलाई पूरापूर सहयोग गर्छु– कांग्रेस एक बनाएर लैजाऔं । गूटवन्दी र भागवण्डाको अवस्थानै मेटिदिऊँ, सवैको भलो हुन्छ । नत्र भने तपाईले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा वाहिर परेकाहरुलाई कसैले संरक्षण दिन पर्यो नि । अनि त्यस पछि गूटवन्दी कसरी मेटिन्छ रु तर तपाई तयार हुनुभएन । परिणाम आज के भयो रु कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाँउमा पुग्यौं । ”

“राम्रा काम गरेर आफू सुरक्षित रहनुको सट्टा सामदामको आधारमा गूटको किल्ला दह्रो वनाएर आफूलाई सुरक्षित राख्ने नेता र कार्यक्रताले पार्टीमा आफ्नो भविश्य असुरक्षित र पूर्वाग्रही नेतावाट आफूलाई कहिल्यै न्याय नहूने महसुस गर्नुपर्ने अबस्थाले पार्टी पलायन वा पार्टी विभाजनको दिशातिर उन्मूख हुनेछ । यो स्थितिवाट पार्टीलाई जोगाउन भरपर्दौ आधार तयार गर्नु ढिलो भैसकेको छ ।”
पौडेलको पत्र जस्ताकोतस्तै

‘सभापति ज्यू.
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति,

नेपाली कांग्रेसको तेर्‍‌हौं महाधिवेशनवाट तपाईं पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईंसंग एकदिन भेटेरै भने– देउवा जी, तपाईंको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने ईच्छा पुरा भएको छ, दलको नेता पनि चुनिनु भयो। प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ। अब तपाईंले चाहेको सबै पूरा भयो। तसर्थ अब तपाईं सानो समुहको संरक्षक बन्न पट्टि नलागेर सिङ्गो कांग्रेसको नेता बन्न लाग्नुहोस्। योग्यता र योगदानको आधारमा सबै साथीहरुलाई समानरुपले मुल्याङ्कन गर्न थाल्नुहोस्, म तपाईंलाई पुरापूर सहयोग गर्छु। कांग्रेस एक बनाएर लैजाऔं।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गूटबन्दी र भागबण्डाको अवस्था नै मेटी दिऊँ, सबैको भलो हुन्छ। नत्र भने तपाईंले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा बाहिर परेकाहरुलाई कसैले संरक्षण दिन पर्‍यो नि। अनि त्यस पछि गूटबन्दी कसरी मेटिन्छ? तर, तपाईं तयार हुनुभएन। परिणाम आज के भयो? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाँउमा पुग्यौं।

राम्रा काम गरेर आफू सुरक्षीत रहनुको सट्टा साम दामको आधारमा गूटको किल्ला दह्रो बनाएर आफूलाई सुरक्षीत राख्ने नेता र कार्यक्रताले पार्टीमा आफ्नो भविश्य असुरक्षीत र पूर्वाग्रही नेताबाट आफूलाई कहिल्यै न्याय नहूने महसुश गर्नुपर्ने अवस्थाले पार्टी पलायन वा पार्टी विभाजनको दिशातिर उन्मूख हुनेछ। यो स्थितीबाट पार्टीलाई जोगाउन भरपर्दो आधार तयार गर्न ढिलो भैसकेको छ।

गूटको चिन्ता छाडेर मैले दिएको फर्मूलामा काम गरेको भए पदाधिकारी नियूक्ति र विभाग गठन सहजै हुने थिए। पार्टीका सबै तहमा प्रशिक्षण र संगठनात्मक गतिविधीहरु उहिल्यै अघि बढेका हुने थिए। पार्टी सशक्त हुने थियो।

आज पार्टीका सबै निकाय, सबै भातृ शुभेच्छुक संस्था अस्त व्यस्त छन्। तपाईंले के गर्नुभयो? एउटा काम तपाईंले गर्नुभो– आफ्नो गूटको भरणपोषण। हो तपार्इंको आफ्नो गुट मजबुत बन्यो होला तर विचरा कांग्रेस झनझन दुर्बल बन्यो। उठनै गाह्रो हुने गरी लथालिङ्ग हालातमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुण्ठित।

सुदुरपश्चिमदेखी पूर्वसम्म तपाईंको जय जयकार गर्ने बाहेक अरु मर्माहात। भन्दाभन्दै त्यत्रा आयोग, त्यत्रा नियुक्ति नबनेको नबनै रहे। कम्युनिष्टको हातमा गए। कांग्रेसीको योगदान, पञ्चायतका कालरात्री देखीको बलिदान कता हो कता। पार्टी सरकारमा गएपछि तत्काल राहातको प्याकेज ल्याएको भए पार्टीको लोकप्रियता बढ्ने थियो। तर समय सकिएपछि अन्त्यमा आएर काम चलाउ भैसकेपछि जनतालाई पस्केको राहात जस पाउलाभन्दा अपजसको भारी बनेको छ। समयमै किन नगरेको?

तपाईंको नेतृत्वमा न पार्टी चल्यो न सरकार ! पार्टी अहिलेसम्म अपुरोको अपुरै, एउटा पनि प्रशिक्षण, एउटा पनि संगठानात्मक गतिविधि हुन सकेन। विधान अनुसारका प्रदेश अधिवेशन किन भएनन्? धनुषा जिल्ला कमीटि विहिन किन बनाईयो?

टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम लोकप्रिय साथीहरु उम्मेदवारीबाट वञ्चित भए जस्ले गर्दा मैले पटकपटक बैठक छोडेरै हिँडनुपर्नेसम्मका नौवत आईलाग्यो परिणाम जित्ने ठाउँमा हारीयो पनि।

तर्सथ हालै भएका निर्वाचनमा नेपाली कांग्रेसको पराजय केवल दुई कम्युनिस्टको गठबन्धनका कारण भएको होइन। यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो।

संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन। यसले के पुष्टि गरेको छ भने हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ। स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि यदि पार्टीका सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ।

केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ। तर प्रतिपक्षका रुपमा पनि, संख्याका हिसाबले, कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने, बल पुग्ने छैन। त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ।

राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाई तपाईंले घोर उपेक्षा गर्नुभयो। आईजी काण्डमा त्यस्तै गर्नुभो, महाअभियोग प्रकरणमा लोकले के भन्ला? भन्ने कुरा वास्तै गर्नुभएन न्यायाधीश नियुक्तिमा अपारदर्शी शैलिको प्रयोगदेखी सबै रेकर्ड तोड्ने गरी औचित्य नै नभएका व्यक्तिहरु थुपारेर जम्बो मन्त्रीपरिषद गठनले पनि नागारिक समाजमा चरम वितृष्ण फैलायो।

फिर्तै लिन बाध्य हुनुपर्ने नियुक्तिहरु, आफैंलाई घाडो बनेर लाचारी पूर्वक पछि हट्नुपर्ने महाभियोग जस्ता प्रकरणले कांग्रेसको छबि नै ध्वस्त पारे अनि जनतामा हाम्रो लोकप्रियता कहाँ पुग्यो र हामीले चुनाव जित्ने कसरी?

सार्वजानिक रुपमै उत्रेर बलौं भने चुनावको मुखमा पार्टीलाई झन् अप्ठेरो भनिएला भनेर सोच्दा म आफैंलाई नोक्सानी भएको छ। दोहोरो मर्का बेहोर्नु परेको छ। पार्टीमा पैसा हावी भएको कुरा प्रकट रुपमै आइरहेको छ। पैसाको राजनीतिले पार्टीको नैतिक शक्ति क्षीण गराएको छ।

पार्टी सरकारमा रहेको अनुभुति कतै भएन। तपाईंका अति विश्वास पात्र अर्थमन्त्रीले मन्त्रालयहरुलाई विकास बजेट र राहत बजेट सबै रोकेर राखे। क्याबिनेटमा भएका मन्त्री पनि एकथरीलाई सौतेलो व्यवहार भएको गुनासो छ।

चुनाव प्रचण्ड वा केपी कै नेतृत्वमा भएको भए पनि अहिलेको भन्दा हाम्रो हालत राम्रो हुन्थ्यो। जनतको सहानुभुति र माया हामी माथि रहन्थ्यो। आज हामीले जनताको सहानुभुति पनि भोट पनि दुवै गुमाएका छौं।

‘प्रचण्डलाई एमाले सरकारबाट छुटाएर ल्याएँ’ भनेर गर्व गर्नुभयो, फेरी छोडेर एमालेमा मिल्न पुग्दा के प्रयत्न गर्नु भो? वाम गठवन्धन कसरी बन्यो? प्रचण्डलाई यतै राख्न मैले सहयोग गरेकै थिएँ र गर्न चाहेकै थिएँ। मधेश आधारित दलहरुसँग एकता वार्ता गम्भीर रुपले हुँदै भएन। उनका नेताहरुलाई भने ठाउँ सुरक्षित गरिदिने, हामीले के लियौं? राप्रपासंगको गठबन्धनको औचित्य पुष्टी हुन नसकेको मात्र हैन हाम्रो हातमा उल्टो परिणाम आयो।

मैले शुरुमै भने झैं मुल्याङ्कनमा चल्न र गूट मास्न तपाईं तयार भैदिएको भए तपाईं सिंगो कांग्रेसको हाई–हाईको नेता बन्नुहुन्थ्यो। तपार्इंले त्यागको उदाहरण प्रस्तुत गरेको भए तपाईं र पार्टी दुवैको हित हुन्थ्यो। इतिहास निर्माण गर्न सक्नुहुन्थ्यो। भोगको गिनिजबूकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन्?

आशक्तिबाट माथि उठनसक्नुभएको भए गिरीजाबाबुले जतिकै पनि अलिकति उदार बनेको भए– कुनै साथीलाई प्रममा अघि सारेर तपाईं चुनावको महारथी बनेको भए, परिणाम यो हालतमा पुग्ने थिएन। सबैले भनेको यो कुरा तपाईंले वेवास्ता गर्नुभो। परिणाम यस्तो आयो।

‘पार्टी हारेको होईन उम्मेदवार हारेका हुन् !’ यो कस्तो कुर्तक? निर्वाचन पार्टीले लड्ने हो उम्मेदवार त्यसका प्रतिक हुन् भन्ने कुरा पनि तपाईंलाई हेक्का रहेनछ। सात–सातवटा प्रदेश मध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाउँ छैन। कस्तो नहारेको कांग्रेस हगी?

त्यहाँ तपार्इंले शेरबहादुर जिन्दावाद भनेर सिकाउनुभयो, कांग्रेस जिन्दावाद सिकाउनुभाको रैनछ, आज समयले त्यही देखायो। परिणाम त्यस्तो आयो।

त्यसैले अब तपाईं पार्टी प्रति चिन्ता गर्नुहुन्छ भने दोहर्‍याई–तेहर्‍याई पद ओगट्ने काममा नलाग्नोस्। संसदीय दलको नेता अरु कसैलाई बन्न दिनोस्। आफ्नो स्वार्थको लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने हैन, पार्टी, प्रजातन्त्र र राष्ट्रका लागि आफूलाई जोखिममा राख्ने नै निष्ठावान व्याक्ति हो। केन्द्रिय समितिका निर्णयलाई उपहास तुल्याउने र उल्टयाउने काम बारम्बार भएको छ। अनि कसरी पार्टीमा संस्थागत विकास हुन्छ?

अब के गर्ने?

पार्टीलाई मूल्याङ्कनको आधारमा सञ्चालन गर्ने, नयाँलाई सम्मान र पुरानालाई अवसर प्रदान गर्ने।
अतीत मुखी हैन भविष्य मुखी कांग्रेस।
समाजवादीको स्वर्ग भविष्यमा हुन्छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको कांग्रेस कस्तो हुने?
कम्यूनिष्ट एकताले निर्माण गरेको परिस्थितिमा कांग्रेस कसरी अघि बढनुपर्ने?
कांग्रेसजन हरुमा नयाँ जाँगर भर्न के गर्नुपर्ने?
काम गर्ने कांग्रेस कसरी बनाउने?
कांग्रेस लाई काम गरेस कसरी वनाउने? सभापतिको धारणा के छ?
केन्द्रिय समिति देखी वडा र टोल समिति सम्म अर्कमण्यता छ। वैठक सम्म बस्दैनन्।
एउटापनि नयाँ मानिसलाई कांग्रेसमा आकर्षित गर्ने र पार्टीको संख्या र समर्थक बढाउने काममा कोही लागेको देखिन्न। नेतृत्वले के प्ररणा दियो?
कांग्रेसमा जाँगर भर्ने र कांग्रेसलाई जनता माझ कसरी पुर्‍याउने?
कांग्रेसका सबै तहमा विशेष पाठ्यक्रम सहित निरन्तर प्रशिक्षण र अन्तरक्रिया चलिरहन नितान्त आवश्यक छ।
पार्टीको महासमिति बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप नयाँ विधान पारित गरी त्यो संरचना अनुसार पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौधौं महाधिवेशनमा तुरुन्तै जानु पर्छ।
पार्टीमा सही नेतृत्व विकास गर्न कांग्रेसलाई कांग्रेसकै रुपमा राख्न जो सही क्रियाशिल कार्यकर्ता हुन् तिनको सूची तयार गरी तिनीहरुलाई मात्र क्रियाशिल सदस्यता फर्म भर्न र नविकरण गर्न लगाउनु पर्छ।
पार्टीका तलदेखि माथिसम्मका सबै सदस्यहरुलाई कामको जिम्मा दिनुपर्छ। काम नगर्नेलाई सचेत गराउनु पर्छ। अनुशासन, क्रियाशिलता एवं पार्टीको नीति र आर्दश प्रति प्रतिबद्धता कांग्रेस बन्न अनिवार्य सर्त हुन्।
कांग्रेसले भ्रष्टाचारको कडा विरोध गर्ने सामथ्र्य राख्नु पर्दछ। सुशासनको खोजीमा जनताको साथ लिएर अघि बढनुपर्छ।
कम्यूनिष्टको चरित्रनै केन्द्रीकरणको हुन्छ। कांग्रेसले केन्द्रीकरणको विरोध र स्थानिय तह तथा प्रदेश तहमा संविधानले दिएका अधिकार सहीसलामत पुर्‍याउन हर्दम आवाज दिईरहनु पर्नेछ।
अनुशासन हीनता र अकर्मव्यताको अन्त गनुपर्छ।
कांग्रेसजनहरुले जनताको स्वार्थ संग आफूलाई गास्ने र हर सुख–दुखमा जनतालाई सहयोग गर्न अग्रशर रहनुपर्छ।
विकासमुखी– विपन्नमुखी र जनमुखी संगठन निर्माण गर्ने। कांग्रेसले निमुखालाई न्याय र विपन्नलाई आयको समाजवादी आदर्शका लागि हमेशा प्रयत्नशील र संघर्षशील रहनुपर्छ।
कांग्रेस शहरमुखी भन्दा गाउँमुखी हुनुपर्छ। गाउमै कृषिक्रान्ति, पर्यटनको विस्तार र उर्जाशक्तिको विकास गराएर गाउँमै वसौं वसौं वनाउन कांग्रेस सदैव पर्यत्नशील रहनुपर्छ। जुन क्षेत्रको नेतृत्व लिने हो नियमित रुपमा त्यही खट्नु पर्छ।
गाउँ गाउँमा सहकारी संस्था, वन उपभोक्ता समीति र जल उपयोग र भू–उपयोग समिति, नदि नियन्त्रण समिति, टोल सुधार समिति, सामाजिक सुधार समिति खोलेर समाज र जनताको सेवामा कृयाशिल रहनुपर्छ।
यतिञ्जेल हाम्रा साथीहरुले गाउ गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थय, संचार जस्ता पूर्वाधार निर्माणमा अग्रशरता लिएका छन्। आव हाम्रा साथीहरु गाउँमा आम्दानी र रोजगारी बढाउने तर्फ कृयाशिल रहनुपर्दछ। हाम्रो आजको नारा नै ‘‘कर्मशिल कांग्रेस’’ हुनुपर्छ।
राजनैतिक नियूक्ति र संवैधानीक नियूक्तिहरुमा राजनीतिकरण र पार्टीकरणको विरोध गर्ने र सम्बन्धित विज्ञलाई प्राथामिकता दिन दवाव दिनुपर्दछ।
नेपाली समाजको र नेपाल राष्ट्रको प्रजातान्त्रिककरणको अभियान र त्यसका लागि टोल–टोलसम्म प्रशिक्षण अभियान समेत कांग्रेसले संचालन गर्नुपर्दछ।
कम्यूनिष्ट एकताको परिणाम नेपाल एकात्मकतावाद तिर सर्वसत्तावाद तिर उन्मुख हुँदै जान सकछ। यो प्रवृत्तिको सामना गर्नु कांग्रेसको मुख्य जिम्मेवारी हो।
यस्ता प्रवृत्तिको सामना गर्न, आफूभित्र मात्र तानतुन र जोडघटाउको नेतृत्वबाट सम्भव छैन। स्वच्छ र उच्च नैतिक नेतृत्वको खाँचो पर्दछ। उच्च मनोवल बिना कम्यूनिष्ट शक्तिलाई कडा चुनौती दिन सकिन्न। कांग्रेसजनले बेलैमा यो कुरा बुझ्नु जरुरी छ।
जय नेपाल !

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com