सर्बोच्चबाट कान्तिपुरलाई ३ दिनभित्र उपस्थित हुन र प्रेस काउन्सिललाई कारबाही गर्न आदेश


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई मानहानी गरेको भन्ने मुद्धामा तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश गरेको छ।

कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र सम्वाददाता कृष्ण ज्ञवालीलाई ३ दिन भित्र बयानका लागि आफै उपस्थित हुन आदेश गरेको छ ।
सर्वोच्चले अवहेलना मुद्धाको सुनुवाई गर्दै कान्तिपुरले आचारसंहिता पालना गरे नगरेको छानविन गर्न प्रेसकाउन्सिलका नाममा अन्तरिम आदेश समेत जारी गरेको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीका ४ जन्ममिति, नागरिकतामै ३ वटा जन्ममिति लगायतका शीर्षकमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध सर्वोच्च प्रशसन निकट मानिने तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाको सुनुवाई गर्दै जन्ममिति विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीको इजलासले आफ्नै बारेको विषयमा कान्तिपुरलाई बयानका लागि बोलाएका हुन् ।
कान्तिपुरले संविधान र कानुनको व्यवस्थालाई लत्याउँदै अदालत, न्यायाधीश र प्रधानन्यायाधीशको मानमर्दन गर्ने गरी अनर्गल, भ्रामक समाचारलेखेको प्रधानन्यायाधीस पराजुलीले आफ्नो आदेशमा उल्लेख गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । आदेशमा भनिएको छ ‘‘अदालतको अवहेलनामा किन कारबाही नगर्ने हो ? आफूउपर कारबाही र सजाय गर्न नपर्ने आधार र कारण भए समाह्वान म्याद प्राप्त भएको मितिले ३ दिन भित्र म्याद थाम्न नपाउने गरि यस अदालतमा बयान गर्न स्वयं उपस्थित हुनू।’

‘विपक्षी कान्तिपुर दैनिकमा विभिन्न मितिमा प्रकाशित उल्लिखित समाचार सामाग्रीहरुले पत्रकार आचारसंहिता उल्लङघन गरे नगरेको तर्फ तत्काल छानबिन गरी जनमानसमा भ्रम पैदा गर्ने समाचारहरु पुन ः प्रकाशन हुन नदिने लगायतका प्रेस काउन्सिल ऐनले दिएका अधिकारको तत्काल कार्यान्वयन गर्नू,’ भन्ने प्रधानन्यायधीश पराजुलीको आदेशमा उल्लेख छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com