बुटवलस्थित अक्सफोर्ड माविमा अध्ययनरत विक्रम सापकोटाको गरे आत्महत्या, शिक्षकको यातना दिएको, भन्दै विद्यार्थी आन्दोलित


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

फागुन १३, बुटवल बुटवलस्थित अक्सफोर्ड माविमा अध्ययनरत एक विद्यार्थीले स्कुलबाट घर फर्किएलगत्तै आत्महत्या गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन्।

रुपन्देहीको सालझण्डी घर भएका कक्षा १२ मा बिहानी समूहमा अध्ययनरत विक्रम सापकोटाको आत्महत्यापछि विद्यार्थीहरु आन्दोलित भएका हुन्। शिक्षकले मदिरा खाएको भन्दै अनावश्यक लान्छना लगाएको कारण उनले आत्महत्या गरेको उनीहरुको दाबी छ।

सापकोटालाई शिक्षक लीला पौडेलले कुटपिट गर्दै मानसिक यातना दिएपछि आत्महत्या गर्न बाध्य भएकाले न्याय माग्दै आन्दोलन गरेको संघर्ष समितिका संयोजक विद्यार्थी सरोज खनालले बताए। उनका अनुसार फागुन ११ गते शिक्षक पौडेलले सापकोटा र उनका साथीलाई विद्यालय ढिलो आएको भन्दै यातना दिएका थिए। तर विद्यालय प्रशासनले भने विद्यार्थीलाई यातना नदिएको र अन्य कारणले आत्महत्या गरेको बताएको छ।

सापकोटाले फागुन ११ गते शुक्रबार दिउँसो ३ बजे घरमै आत्महत्या गरेका हुन्।

शुक्रबार बिहान कलेज पढ्न आएका विक्रमलाई मदिरा खाएर आएको भन्दै स्कुल प्रशासनले अभिभावकलाई खबर गरेको बुझिएको छ। प्रशासनले आफ्ना साथीलाई अनावश्यक रुपमा मदिरा खाएको आरोप लगाएपछि उनले सहन नसकेर आत्महत्या सम्मको निष्कर्षमा पुगेको हुन सक्ने विद्यार्थीहरुले आरोप लगाएका छन्।

‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुसभन्दा पनि कलेजले वेवास्ता गरी घरमा खबर गरिदियो, त्यही टर्चरले उसले आत्महत्या गर्‍यो,’ आन्दोलनका संयोजक खनालले भने।

विद्यार्थीहरुले बुटवल बजारमा प्रदर्शन गर्दै न्यायको अपील गरेका हुन्। उनीहरुले घटनाको सही अनुसन्धान गर्न प्रशासनसँग समेत माग गरेका छन्। सुरक्षाकर्मीको पहरामा कलेजमा सुरक्षा दिइएको छ।

घटनापछि बुटवलका अन्य विद्यालयका विद्यार्थीहरुले आन्दोलनमा साथ दिएका छन्।

यता विद्यालयका प्राचार्य दिनेश भुसालले भने आफूहरुले कुनै पनि खालको तनाव नदिएको दाबी गरे। कलेजमा आएका विद्यार्थी बिहानै ४० मिनेटसम्म कक्षा कोठामा नआएको र पछि आउँदा सापकोटासँगैका साथीले मादक पदार्थ सेवन गरेकाले अभिभावकलाई जानकारी दिई जिम्मा लगाएको उनको भनाइ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com