विदेशिदा एक्लै, फर्किदा गर्भ


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

–महिला खबर–

काठमाडौं । गोरखा सिर्दीवासकी ३१ वर्षीया कमला गुरुङ (नाम परिवर्तन) एक महिना अघि कुवेतबाट नेपाल फर्किइन् ।

भारतको बाटो हुँदै अवैधानिक रुपमा कुवेत पुगेकी उनी नेपाल फर्किदा कुनै रौनकता थिएन । एक्लै कुवेत पुगेकी कमला नेपाल फर्कदा गर्भ बोकेर आइन् । यस्तो अवस्थामा उनी न घर नै जान सक्थिन्, नत आफन्तकोमा नै । उनले काठमाडौंकै एक पुनस्र्थापना केन्द्रको सहारा लिन पुगिन् । पुनर्स्थापना केन्द्रमै उनले छोरी जन्माइन् ।

उनी विवाहित हुन् । दुई सन्तान छोडेर विदेश गएकी उनका श्रीमान पनि गाउँमै छन् । विदेशमा पैसाँ कमाउला, सुःखसँग परिवार पालौला भन्ने आस बोकेर एजेन्ट मार्फत कुवेत गएके उनले बताइन् ।

भारतमा ट्रान्जिटको क्रममै उनी एजेन्टबाटै बलात्कृत भइन् । जसको कारण उनी गर्भवती बनिन् । उनी कुवेत पनि पुगिन् । तर ६ महिना मात्रै बस्न पाइन् । गर्भवती भएको थाहा पाउने वित्तिकै मालिकले नेपाल फर्काइदिए । विदेश जाँदा उनका श्रीमान काठमाडौंसम्म पुर्याउन आएका थिए । लिन न श्रीमान नै आए, न परिवारका कुनै सदस्य नै ।

भारतबाट कुवेत लैजानका लागि उनलाई दलालले तीन महिना नयाँ दिल्लीमा राखे । सोही क्रममा दिल्लीमै बलात्कारको पीडा खेपिन् उनले । जसका कारण उनी यतिबेला घर न घाटकी हुन पुगिन् ।

मोरङकी ३२ वर्षीया बिमला माझि (नाम परिवर्तन)को समस्या पनि त्यस्तै छ । दुई वर्षअघि घरेलु कामदारको रुपमा पहिलो पटक भारतको बाटो हुँदै एजेन्ट मार्फत कुवेत पुगेकी उनी मालिकको कान्छो छोराबाटै बलात्कृत भइन् ।

उनका पनि गाउँमा तीन सन्तान छन् । एक महिनाअघि उनी नेपाल फर्किइन् । नेपाल फर्कदा उनको अवस्था पनि कमलाको जस्तै थियो । श्रीमानबाट सम्वन्ध विच्छेद गरेकी विमला छोराछोरी पाल्नकै लागि कुवेत पुगेकी थिइन् । उनलाई पनि घर जाने अवस्था छैन् । यस्तो अवस्थामा घर फर्कदा समाजले के भन्ला भन्ने डरमा छिन् उनी । डाक्टरले उनी सुत्केरी हुने दिन यही फागुन १५ गतेका लागि दिएको पुनस्र्थापनाकी एक कर्मचारीले बताइन् ।

रौतहटकी ३२ वर्षीया रुपा तामाङ (नाम परिवर्तन) ले चाहेर पनि आफ्नो गर्भमा रहेको सन्तान जन्माउन सकिनन् । उनले गत हप्ता मात्रै गर्भ तुहाइन् । उनी पनि एक महिनाअघि गर्भसँगै नेपाल फर्किएकी थिइन् ।

चार महिनाअघि अवैधानिक रुपमा भारतबाट दुवइ पुगेकी रुपा त्यहाँ बस्न समस्या भएपछि नेपाल फर्कन चाहन्थिन् । नेपाल फर्कन सहयोग गर्छु भनेपछि एक नेपालीको सम्पर्कमा बसेकी उनी तिनै नेपालीबाट बलात्कृत भइन् । नेपाल त फर्किइन् तर गर्भ लिएर । समाजको डरको कारण नै उनले गर्भ फाल्न बाँध्य भइन् । उनी पनि विवाहित हुन् । उनका दुई सन्तान छन् ।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएका महिलालाई समाजमा पुनर्स्थापना हुन समस्या छ । अझ गर्भवती गएर फर्कने महिलाहरूलाई भने झनै समस्या हुने गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको क्षेत्रका काम गर्दै आएको पौरखी नेपालको तथ्यांक अनुसार सन् २००९ देखि हालसम्म वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमध्ये ४२ जना महिलाहरू गर्भवती भएर नेपाल फर्केका छन् । यस अवधिमा सन् २०१३ मा सबैभन्दा बढी १० जना महिलाहरू गर्भवती भएर फर्केका थिए । सन् २०१२ मा ७ जना, सन् २०१४ मा ६ जना, २०१६ र ०१७ मा पाँच, पाँच जना महिलाहरू गर्भवती भई नेपाल फर्किएको तथ्यांकमा छ ।

विदेशमा रहँदा बलात्कार पछि गर्भवती भई यसरी नेपाल फर्कने अधिकांश महिलाहरू मालिक र नेपालीबाटै यौन हिंसामा पर्ने र गर्भवती हुने गरेका छन् ।

पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ विदेशबाट फर्कने महिलाहरूलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नरहेको बताउँछिन् । अझ गर्भवती भएर फर्कने महिलाहरूको अवस्था त झ्न दयानीय नै रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘कमाउन गएका महिलाहरू उल्टै यौन हिंसाको सिकार हुन्छन् । गर्भ बोकर फर्किनेहरूका लागि न परिवार रहन्छ, न आफन्त, न त छिरछिमेक नै । अनि कहाँ जानेहरू ? राज्य नै जिम्मेवार र जवाफदेही हुनुपर्छ यो विषयमा ।’

यसरी रोजगारीका क्रममा विदेश पुगेर यौन हिंसाका कारण गर्भवती भई स्वदेश फर्किने महिलाहरुलाई त्यसपछि हिंसामाथि हिंसा थपिने गरेको पनि गुरुङको भनाइ छ ।

एक त परिवार साथमा रहदैन । त्यसैमाथि घरमा रहेका छोरीछोरीको मायाले पनि उनीहरु तड्पिन्छन् । एकातिर श्रीमान, छोराछोरी, आफन्त र छिमेकीबाट सहारा नपाउनुको पीडा, अर्कोतिर पराइले दिएको हिंसाको भारी ‘गर्भ’ भइदिन्छ । त्यसमाथि त्यही गर्भलाई जन्म दिदा उसको जन्मदर्ता, नागरिकता, शिक्षादिक्षा लगायतको ठूलो बोझ पनि महिलाकै थाप्लोमा । मञ्जु भन्छिन्, ‘यस्ता खालका पीडत महिलाको संरक्षणको जिम्मा राज्यले लिनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com