राष्ट्रपति र सभामुखमा मिल्यो, एमाले माओवादीबीच भागबण्डा


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

 

फागुन ११, काठमाडौं । नेकपा एमाले र माओवादीबीच राष्ट्रपति, उपराष्ट्रपति र सभामुख पदको भागवण्डा मिलेको छ । दुई दलबीच भएको सहमतिअनुसार एमालेले राष्ट्रपति तथा माओवादीले उपराष्ट्रपति र सभामुख पद पाउने भएका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ठूला पदको भागवण्डा मिलेको हो । २०७२ सालमा नयाँ संविधान जारी भएपछि एमाले र माओवादीले यसैगरी भागवण्डा मिलाएका थिए ।

निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपति निर्वाचनको कार्यक्रम घोषणा गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारी मनोनयन फागुन २३ गते हुनेछ ।

केन्द्र र प्रदेशका सांसदले राष्ट्रपति छान्ने छन् । विगतमा संसद सदस्यको बहुमतले राष्ट्रपति छान्ने संवैधानिक व्यवस्था थियो । केन्द्र र प्रदेशमा वामपन्थी गठबन्धनको बहुमत रहेका कारण वामपन्थी उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ ।

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको नाम चर्चामा छ ।

राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसंगको भेटवार्तामा आफू दोहोरिन चाहेको आशय व्यक्त गरेको समाचार प्रकाशमा आएको थियो ।

पहिलो कार्यकाल विवादमुक्त र कुशलतापूर्ण सम्पन्न गरेका कारण भण्डारी राष्ट्रपतिमा दोहोरिने सम्भावना प्रवल छ । पहिलो राष्ट्रपति डा रामवरण यादवले ७ वर्ष काम गरेका थिए ।

पूर्वप्रधानमन्त्री खनाल पनि राष्ट्रपतिका लागि आकांक्षी देखिएका छन्, खनालले पनि आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् । पूर्व सभामुख नेम्वाङ पनि अर्का आकांक्षी हुन् । उनकै नेतृत्वमा नयाँ संविधान जारी भएको थियो ।

उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै उपराष्ट्रपतिमा दोहोरिने सम्भावना छ । तर प्रचण्डले अमिक शेरचनलाई पनि आश्वासन दिएका स्रोतको दावी छ । शेरचन प्रचण्डलाई जिताउन चुनावी अभियानमा लागेका थिए । उनी अहिले सांसद छैनन् ।

नेपाली कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपति पदमा सांकेतिक उम्मेदवारी दिने बताएको छ । कांग्रेसले यसअघि कुलबहादुर गुरुङलाई उठाएको थियो । यसपटक भने गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्ने संकेत गरेका छन् ।

कांग्रेसले कुनै तराइ मधेशको नागरिकलाई उम्मेदवार बनााउने सम्भावना छ ।

सभामुखमा महरा या गुरुङ

भावी सभामुखका लागि माओवादीका कृष्णबहादुर महरा, देव गुरुङ र जयपुरी घर्तीको नाम चर्चामा छ । नयाँ संविधान जारी भएपछि संसदमा रुपान्तरि संसदको सभामुखमा पनि महराको नाम चर्चामा थियो ।

सभामुखका लागि यसपटक लम्जुङबाट चुनाव जितेका गुरुङ र जयपुरी सम्मको चर्चा छ । गुरुङले मन्त्री बन्ने चाहाना व्यक्त गरेपनि यसपटक उनले मन्त्री पाउने सम्भावना कमजोर देखिएको छ । निवर्तमान सभामुख ओनसरी घर्तीपनि सभामुख बन्ने चर्चा थियो ।

बर्षमान पुन सरकारमा गएमा ओनसरीले त्यो मौका पाउने छैनिन् । माओवादीले एक परिवार एक पदको नीति लागू गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसदको अधिवेशन आह्वान गरिसकेकी छिन् । संसदको अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुखको चुनाव भइसक्नु पर्ने व्यबस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com