राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले सिफारिस गरेका ३ जनाले गरे, सर्वोच्चमा रिट दर्ता


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

 

फागुन ११, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि
सिफारिस गरेका तीन जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको भन्दै गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्त रुपमा शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नु भएका हुन्। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । असंवैधानिक रुपमा आफूहरुलाई विस्थापन गरी अरु तीन जनालाई मनोनयनका लागि सिफारिस गरिएको भन्दै पुरानै निर्णय कार्यान्वयन गर्न उनीहरुले निवेदनमा माग गरेका छन् ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म शपथ नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न पनि उनीहरुले निवेदनमा उल्लेख गरेका छन् । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा, रामनारायण बिंडारी र विमला पौडेल राईलाई सिफारिश गरेको थियो । नयाँ तीनै सदस्यलाई राष्ट्रपतिले मनोनयन गरिसकेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com